काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।
युवा नेता जीवन राईको अध्यक्षतामा दल दर्ताका लागि निवेदन दिइएको हो । सो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ । २५ सदस्यीय कार्यसमिति राखेर दल दर्ताको निवेदन दिइएको हो । २५ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, विनोदकुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् । चुनाव चिन्ह भने कलम माग गरिएको छ ।राई नेपाल पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको बताए ।