कोरोना संक्रमणको जोखिमका कारण नियमित हवाई उडान बन्द भएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ हजार ७ सय यात्रुले यात्रा गरेका छन्।
नियमित उडान बन्द भएपनि भारतसँगको एयर बबल उडान र अन्य चार्टर्ड उडानबाट यात्रा गरेका हुन्। आन्तरिक उडान वैशाख २१ र अन्तर्राष्ट्रिय उडान वैशाख २४ देखि बन्द भएको थियो। विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार यो अवधिमा विमानस्थलमा २ हजार ६१२ ले आन्तरिक हवाई यात्रा गरेका छन्। हेलिकप्टरसहितका ९१८ उडान भएका छन्।
त्यस्तै यो अवधिमा १४३ अन्तर्राष्ट्रिय उडान भएका छन्। यो अवधिमा ८२ हजार किलो आन्तरिक कार्गो ओसारपसार भएको छ भने ९ लाख किलो अन्तर्राष्ट्रिय कार्गो ओसारपसार भएको छ।