सप्तरी : प्रधानमन्त्री केपी ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको हाे ।
बजेटका सबै दस्तावेजलाई अन्तिम रुप दिइसकेकाले आज मन्त्रिपरिषद बैठकमा पेस गर्न लागिएको छ। मन्त्रिपरिषद बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ।
राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार अपरान्ह ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ। प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।
यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै प्रधानमन्त्री ओलीले बताएका छन् । आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ छ ।
डेढ महिनाअघि उनले यसपालि वृद्ध भत्ता बढाउने घोषणा पनि गरेका थिए ।