सल्यान – कोरोनाबाट सल्यानका थप तीन जना पुरुषको मृत्यु भएको छ । दुई जनाको होम आइसोलेसनमा र एकजनाको उपचारका लागि बाहिर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
कपुरकोट गाउँपालिका ४ का ७६ वर्षीय पुरुष र बन्गाड कुपिण्डे नगरपालिका ७ का ४९ वर्षीय पुरुषको होम आईसोलेसनमा र शारदा नगरपालिका १४ का ६३ वर्षीय पुरुषलाई सुर्खेत लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला अस्पताल सल्यानका क्लिनिकल इन्चार्ज डा. भीमकान्त जैसीले बताए । उनका अनुसार केही दिनअघि मात्र उपचारको लागि जिल्ला अस्पताल आएका शारदा नगरपालिका १४ का पुरुषको अवस्था गम्भिर भएपछि उनलाई सुर्खेत रिफर गरिएको थियो ।थप तीनको मृत्यु भएपछि जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको उनले जानकारी गराए । उनका अनुसार जिल्लाभित्र ४३ र बाहिर ९ जनाको मृत्यु भएको हो । होम आइसोलेसनमा मृत्यु हुनेको संख्या मात्र १० पुगेको उनको भनाइ छ । घरकाले उच्च सर्तकता नअपनाएकै कारण होम आइसोलेसनमा संक्रमितको मृत्यु भएको पाइएको उनको भनाइ छ ।
जिल्लामा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६ सय २३ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । हालसम्म ७ सय ४९ संक्रिय संक्रमित रहेका, तीमध्ये जिल्ला अस्पतालमा १८ र संस्थागत आइसोलेसनमा ३३ जनाले उपचार गराइरहेका र बाँकी ७ सय ७३ होम आइसोलसनमा बस्दै आएका उनले जानकारी दिए । अहिलेसम्म जिल्लाभर ७ सय ६७ जना निको भएर घर फर्किएका उनको भनाइ छ ।