काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावलले अमेरिकी आर्थिक अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यन्वयनका बजेट छुट्याइनुलाई राष्ट्रघाती कदमको रुपमा चित्रण गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै रावलले नेपाललको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा घात पार्ने एमसीसी संसदबाट अनुमोदन नभएको अवस्थामा त्यसको कार्यान्वयनका लागि बजेट विनियोजन गर्न नमिल्ने बताएका पनि बताएका छन्। ‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो’, रावलले ट्वीटरमा लेखेका छन्,‘यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं ।’
एमसीसी सम्झौतामा ‘राष्ट्रघाती प्रावधानहरु’ रहेको दाबी गर्ने रावल सम्झौताका केही प्रावधानलाई परिमार्जन गरेर मात्रै कार्यान्वयन गर्नुपर्ने पक्षमा छन्। रावल तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको अध्ययनका सन्दर्भमा गठन गरेको कार्यदलका सदस्य समेत थिए।
नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो ।यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं!
— Bhim Rawal, PhD (@BhimRawal179) May 30, 2021