काठमाडौं – जनता समाजवादी पार्टी भित्रको विवाद चरमचुलीमा छ । दुई भागमा विभक्त जसपाले एक अर्कालाई कारबाही गर्ने प्रकृया थालिसकेका छन् । तर कारबाही नै भने कसैले कसैलाई गरिसकेको अवस्था छैन ।
महन्थ ठाकुर र उपेन्द्र यादव दुबैले एक अर्काको कदमपछि मात्रै थप निर्णय गर्ने तयारी थालेका छन् । महन्थ पक्षको चाहना छ – सकेसम्म कार्यकारिणी परिषदमा पनि बहुमत जुटोस् , अनि मात्र सरकारमा जाने निर्णय गरौंला । तर महन्थको यो चाहना पूरा हुने अवस्था देखिएको छैन ।जसपाको केन्द्रीय कार्यकारिणी परिषदमा ५२ जना छन् । जसमध्ये ३० जना उपेन्द्र पक्षमा छन् । तर विघटित संसदीय दलमा भने महन्थ बहुमतमा छन् । ३२ मध्ये २० जना महन्थ पक्षमा उभिएका छन् भने १२ जना मात्रै उपेन्द्रसँग बसेको अवस्था छ । त्यसैले महन्थको चाहना परिषदमा समेत वहुमत जुटाउनमै केन्द्रित रह्यो । त्यसका लागि लैनचौरस्थित भारतीय दूतावास खुलेरै मैदानमा आएको थियो । तैपनि परिषदमा भने वहुमत जुटाउन सकेन । त्यसैले अब भने महन्थ पक्ष पुरानो राष्ट्रिय जनता पार्टी नै ब्यूँताएर भएपनि अलग्गिने निश्कर्षमा पुगेको छ ।
उपेन्द्रको चाहना पनि त्यही हो । पार्टीको मूलधार आफैंसँग रहेपछि ठाकुरसँग गएका सांसद्हरुको भविष्य पनि आफ्नै हातमा आउने उनको बुझाई छ । त्यही भएर महन्थ लगायत चार जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नआएपनि उनले कारबाही प्रकृया अगाडि बढाएका छैनन् ।उपेन्द्रले चाहेको अर्काे महत्वपूर्ण विषय भनेको महन्थको सत्तारोहण होस् भन्ने । अब जसरी भएपनि सत्तामा जाने पक्षमा पुगेको महन्थ जति चाँडो सरकारमा जान्छ, पार्टीमा आफ्नो हैसियत त्यति नै बलियो बन्ने उनको बुझाई रहेको छ । सरकारमा जान नपाएकाहरुलाई आफूतिर तान्न र संसद् पुनस्थापना भएको अवस्थामा सत्तामा लैजाने लालचसमेत उनका लागि उपयोगी हुने देखिएको छ ।महन्थ पनि उपेन्द्रको यो चाल बुझेर सत्तामा अलि ढिलै जान चाहन्थे । तर अर्का नेता राजेन्द्र महतोको हतारले गर्दा अब दबाब थेग्न नसक्ने अवस्थामा पुगेका छन् । त्यही भएकाले आज सखारै महन्थ – राजेन्द्र बालुवाटार पुगे । उनीहरुले आठ मन्त्री र दुई जना राज्यमन्त्री दिन प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका छन् । यसबारे अब छिट्टैै निर्णय लिने जानकारी ओलीले गराएका छन् ।
महन्थ पक्ष सत्तामा जाने वित्तिकै उपेन्द्रले अनुशासनको डण्डा चलाउने भएका छन् । त्यसको संकेत अर्का नेता डा. बाबुराम भट्टराईले समेत दिइसकेका छन् । आज बिहानै उनले ट्वीट गरेर अब हात मिलाएरै आ–आफ्नो बाटो लाग्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । त्यसको अर्थ अब जसपा सग्लो नरहने निश्चित भएको छ ।