काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा रहेको यसअघिकै संवैधानिक इजलासमा आज पनि रिटको सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।
इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य हुनुहुन्छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई इजलासमा राखिएकोमा रिट निवेदकका पक्षका कानुन व्यवसायीले विरोध जनाउँदै आएका छन् । अस्ति आइतवारको सुनुवाइमा प्रधानन्यायाधीश जबराले यसबारे न्यायाधीश केसी र श्रेष्ठले नै निर्णय गर्ने बताउनुभएको थियो ।
हिजो न्यायाधीश केसी र श्रेष्ठले राजनीतिक मुद्दा जोडेर वकिलहरूले ‘आफूलाई मुद्दा हेर्न नमिल्ने भनेकै आधारमा इजलास नछाड्ने’ बताएका थिए । आज पनि संवैधानिक इजलासमा दुई न्यायाधीश केसी र श्रेष्ठका विषयमा प्रश्न उठे सरकारी वकिलले संवैधानिक इजलासको रोस्टरमा रहेका नौ न्यायाधीशमाथि पनि प्रश्न उठाउने तयारी गरेका छन् ।
गएको शुक्रवारदेखि संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमा कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट बहस गरिरहेका अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता टिकाराम भट्टराईले न्यायाधीश केसी र श्रेष्ठको विषयमा प्रश्न उठाएपछि रिट निवेदनमाथि सैद्धान्तिक छलफल नै सुरु हुन सकेको छैन ।