काठमाडौं – नेकपा (एमाले)को एकताको प्रयास भइरहेको नेताहरुले बताइरहेका छन् । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी एकताको प्रयास अन्तिम समयसम्म गर्ने निर्णय गरेको थियो ।
तथापि, आज एमालेका छुट्टा–छुट्टै बैठक बस्दै छ । एमालेका वरिष्ठ नेता झलनाथ खनाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । भर्चुअल रुपमा हुने बैठक बिहान ११ बजेका लागि तय गरिएको छ ।त्यस्तै, बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि बैठक डाकेका हुन् । उक्त बैठक हिजो बस्ने तय भए पनि एकताको प्रयासका लागि नेताहरुबीच छलफल गर्नका लागि बैठक सारिएको ओलीपक्षीय नेताहरु बताउँछन् । ओली पक्ष खनाल–नेपाल समूहलाई कमजोर बनाउन लागेको छ । उक्त समूहका दोस्रो तहका नेताहरुलाई तान्ने प्रयास भइरहेको बताइन्छ । हिजो मात्रै उपप्रधानमन्त्री समेत रहेका एमाले महासचिव ईश्वर पोखरेलले खनाल–नेपाल समूहका नेता योगेश भट्टराईसँग छलफल गरेका थिए । उनीहरुबीच पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ ।
उता, खनाल–नेपालसहितका नेतालाई कारबाही गरेपछि छुट्टै पार्टी गठनको विषय पनि उक्त समूहमा चल्न थालेको छ । एमालेले खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत भन्दै सहभागी नहुन निर्देशन पनि दिएको छ ।