नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सांसद विष्णुलाल तामाङ (एल वाइबा) को निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उच्च रक्तचाप र मधुमेहबाट पीडित कमरेड वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा यही जेष्ठ २० गते साँझ ६ बजेर २० मिनेट जाँदा निधन भएको हो ।’वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको प्रचण्डले बताए । कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको छ । सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय हुनुहुन्थ्यो,’ प्रचण्डले सम्झेका छन् ।
वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिँदै उनप्रति प्रचण्डले श्रद्धा सुमन प्रकट गरेका छन् । स्थानीय सामन्तविरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरे तामाङ २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौ.म.)को केन्द्रीय सदस्य भएका थिए ।२०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा (माओवादी) बीचको एकीकरणपछि केन्द्रीय सदस्य हुँदै माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका थिए । उनका तीन छोरा र दुई छोरी रहेका छन् ।