नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति क्षमायोग्य नरहेको बताएका छन् ।
आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई देशकै रुपमा स्वीकार नगर्ने गरी अभिव्यक्ति दिनु अक्षम्य रहेको प्रस्ट्याए । “उपप्रधानमन्त्रीजस्तो व्यक्तिबाट मुलुकलाई नै विखण्डन गर्ने किसिमको अभिव्यक्ति आउनु मुलुक कता जाँदैछ भन्ने प्रश्न उब्जिएको छ,” उनले भने, “यस विषयमा सरकारको आधिकारिक धारणा आउनुपर्छ ।”नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक देश हो भन्दै उनले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्वीकार गर्नै नसकिने रहेको स्पष्ट पारे । संविधान बन्ने क्रममा उग्र प्रतिरक्षा गर्ने केपी ओली र उग्र रुपले संविधानको विरोध गर्ने राजपा एकै ठाउँमा आउनुपर्ने बाध्यताले आशंका उत्पन्न भएको कोइरालाले बताए । पहिले उग्र विरोध गरेको संविधान मानेर उपप्रधानमन्त्रीको शपथ लिएका महतोले बहुलराष्ट्रिय राज्यको कुरा उठाउनुले देशलाई नै सोच्न बाध्य बनाएको कोइरालाको भनाइ छ ।कोइरालाले बहुभाषिक, बहुजातीय, बहुधार्मिक, सांस्कृतिक देशको सम्वद्र्धन र संरक्षण गर्ने जिम्मेवारी सबै राजनीतिक दलको भएको भन्दै बहुलराष्ट्रिय राज्य भन्ने कुरा कुनै ढंगबाट स्वीकार गर्न सकिने विषय नभएको स्पष्ट पारे ।
उनले प्रधानमन्त्री ओलीले चुनाव गराउन नसक्ने ठोकुवा गर्दै अदालतबाट संसद पुनःस्थापना हुने र नयाँ बन्ने सरकारले निर्वाचन गराउने उल्लेख गरे । “अदालतले संसद पुनःस्थापना गरे पनि यही अवस्थामा संसद चल्न नसक्ने भएकाले अबको बाटो निर्वाचन नै हो,” उनले भने ।