बागमती प्रदेशमा स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई नेकपा (एमाले)ले कारबाही नगर्ने भएको छ। थप सामग्री
शनिबार बसेको प्रदेश संसदीय दलको बैठकमा कारबाही नगर्ने जानकारी दिइएको प्रदेश सभा सदस्य एवं एमाले केन्द्रीय सदस्य रचना खड्काले बताइन्। प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने विषयमा छलफल गर्न दुवै पक्षका सांसदको बैठक बसेको थियो।
बागमती प्रदेशमा ६ जेठमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमाले उम्मेदवार तत्कालीन गृहमन्त्री रामबहादुर थापा पराजित भएका थिए। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा निर्वाचित भएका थिए। एमालेका उम्मेदवार थापालाई मत नदिएको भन्दै प्रदेश संसदीय बोर्डले १४ सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णय अनुसार, नेपाल पक्षका सांसदहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोधिएको थियो।
आज बसेको दुवै पक्षको संसदीय दलको बैठकमा कारबाही नगर्ने जानकारी आएको नेत्री शाक्यले बताएकी थिइन्। “संसदीय बोर्डले कारबाही नगर्ने लिखित जानकारी दिएको छ,” नेत्री शाक्यले बैठकमा भनिन्। राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा गोप्य मतदान भएको थियो। त्यसमा ओली पक्षले कारबाही गर्ने आधार भेटेको थिएन।
यससँगै शनिबार बसेको प्रदेश सभा संसदीय दलको बैठकले बागमती सरकारको नीति तथा कार्यक्रम एकजुट भएर पारित गर्ने समेत निर्णय गरेको छ।