एजेन्सी – युवा स्टार केलियन एमबाप्पे र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बीचको सम्झौता अर्को समरमा सकिँदै छ ।
२२ वर्षीय फ्रेन्च खेलाडी एमबाप्पले क्लबमा भविष्य अनिश्चित बन्ने अवस्था आएमा आफ्ना लागि उपयुक्त टिमको खोजी सुरु गरिसकेको बताइएको छ ।पछिल्लो समय उनको नाम स्पेनिस महारथी रियल मिड्रडसँग जोडिँदै आएको छ । एमबाप्पेले फ्रेन्च फुटबलसँग बोल्दै हाल पिएसजीमै खुसी रहेको तर क्लबमा आफ्नो भविष्यका बारेमा निश्चित नभएको बताएका छन् ।‘म सही निर्णय गर्ने प्रयासमा छु तर यो निकै कठिन हुन्छ’, उनले भने, ‘यसका लागि मैले आफैंलाई बढीभन्दा बढी मौका दिइरहेको छु ।’
अहिले आफूलाई मन पर्ने क्लबमा छु, जहाँ म खुसी महसुस गर्न सक्छु तर के यो मेरा लागि उपयुक्त स्थान हो ? अहिलेसम्म यसको उत्तर भेट्न सकेको छैन ।यदि आफूले पिएसजी छाड्ने निर्णय गरेमा क्लबसँग कुनै मनमुटाब नहोस् र सम्बन्ध पहिलेको जस्तै होस् भन्ने एमबाप्पेको चाहना छ । ‘पिएसजीले मेरो अनुरोधलाई राम्रोसँग बुझेको छ किनकि उनीहरूलाई थाहा छ मैले कुनै गलत निर्णय लिने छैन ।’‘एउटा उत्कृष्ट खेलाडी भएकाले यस्तो अवस्थामा सबै चिजलाई कसरी स्वच्छ र उच्च स्तरको बनाउनुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ ।’