गएराति भएको स्विट्जरल्यान्ड र फ्रान्सबीचको दोस्रो प्रिक्वार्टरफाइनल खेलमा १४ गोल भए। निर्धारित समय ३–३ को बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा ९ गोल भए। पेनाल्टीमा स्विट्जरल्यान्डले पाँच वटै गोल हान्यो भने फ्रान्स अन्तिम पेनाल्टीमा चुक्यो। यो हारसँगै फ्रान्स यूरो कपबाट बाहिरिएको छ।
यसअघि क्रोएसिया र स्पेनको खेलमा आठ गोल भए। स्पेनले पाँच गोल प्रहार गर्दा क्रोएसियाको खातामा तीन गोल मात्रै रहे। यो जितसँगै स्पेन क्वार्टरफाइनलमा प्रवेश गरेको छ।निर्धारित तथा त्यसपछि थपिएको समयमा स्विट्जरल्यान्ड र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए। पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एम्बाप्पे चुके।स्विट्जरल्यान्डका लागि मारियो गभ्रानोभिच, फावियन सचार, म्यानुअल अकान्जी, रुवेन भार्गास र एडमिर मेहमेदिरले पेनाल्टीमा गोल गरे। त्यस्तै, फ्रान्सका पाउल पोग्बा, ओलिभर जिरुड, मार्कस थुराम र पेर्सनल किम्पेम्बेले गोल गरेका थिए।
यसअघि स्विट्जरल्यान्डका ह्यारिस सेफेरोभिचले १५औं मिनेटमा गोल गर्दै शुरूआती अग्रता बनाएका थिए। त्यसपछि करिम बेन्जिमाले ५७औं र ५९औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए।अझ खेलको ७५औं मिनेटमा पाउल पोग्बाले डिबक्स बाहिरबाट गोल गर्दै फ्रान्सलाई ३–१ को अवस्थामा ल्याए। तर, ८०औं मिनेटमा सेफेरोभिच र ९०औं मिनेटमा गभ्रानोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरीमा ल्याएका थिए।यसअघि भएको पहिलो खेलमा स्पेनले क्रोसियामाथि ५–३ को जित निकालेको थियो। स्पेनका लागि पाब्लो साराबिया, फेरान टोरेस, सेसर एपिलिजिक्वेटा, अल्भारो मोराटा र मिकेल ओयासाबेलले एक–एक गोल गरे।
त्यस्तै, क्रोएसियाका लागि मारिओ प्लासिच र मिस्लाभ ओर्सिचले गोल गरेका थिए। स्पेनका गोलकिपरको लापरवाहीले पास दिएको बल गोलमा परिणत भएपछि क्रोएसियाले एक गोल उपहार पाएको थियो।