सप्तरी : विश्वभरका स्वास्थ्य अधिकारीहरुले दक्षिण अमेरिकी देश पेरुबाट फैदिँदै युरोपसम्म पुगेको कोरोनाभाइरसको लाम्ब्दा भेरिएन्टका हुने असामान्य म्युटेसनले यसलाईभेरिएन्ट भ्याक्सिन प्रतिरोधी बनाउन सक्ने चेतावनी दिएका छन् । यो नयाँ भेरिएन्टको जेनेटिक म्युटेसन डेल्टा भेरिएन्टसँग मिल्दो छ जसले यसलाई फैलिने क्षमता अधिक भएको बनाउने विश्व स्वास्थ्य संगठनले बताएको छ । सी.३७ नामबाट समेत चिनिने लाम्ब्दा भेरिएन्ट सबैभन्दा पहिले गत वर्ष पेरुमा भेटिएको थियो त्यसपछि अहिलेसम्म २७ देशमा फैलिइरहेको छ ।
गएको डिसेम्बरमा यो भेरिएन्ट प्रत्येक २ सय नमूनामा एउटा भेटिएपछि वैज्ञानिकहरुले यसबारे जानकारी पाएका थिए । मार्चसम्म यसको संख्या बढेर सम्पूर्ण केसको ५० प्रतिशत पुगेको थियो र अहिलेसम्म यो बढेर ८२ प्रतिशत पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पेरुको राजधानी लिमाको कायातानो हेरेडिया युनिभर्सिटीका मोलिक्युलर वैज्ञानिक पाब्लो सुकायामाका अनुसार यसका केसहरुमा भइरहेको वृद्धिले यसको फैलिने क्षमता अरुको भन्दा धेरै भएको देखाउँछ ।
छिमेकी देश चिलीमा पनि कूल संक्रमितको २५ प्रतिशत यही भेरिएन्टबाट संक्रमित छन् । ‘अहिलेसम्म यो भेरिएन्ट अरु भन्दा धेरै आक्रामक छ भन्ने पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन‘ पान अमेरिकन हेल्थ अर्गनाइजेसनका सल्लाहकार जारियो मेन्डेज रिकोले भने ‘उसको संक्रामकता दर बढी हुन सक्ने सम्भावना छ तर यसको पुष्टि गर्न थप अध्ययन गर्नुपर्छ ।’
विश्व स्वास्थ्य संगठनले लाम्ब्दा भेरिएन्टलाई सातौं ‘भेरिएन्ट अफ इन्टरेस्ट’ मा राखेको छ । बेलायतमा गत हप्ता ६ केस रेकर्ड गरिएपछि यसलाई पब्लिक हेल्थ इङल्याण्डले गहिरो अध्ययन गरिरहेको छ । शीर्ष वैज्ञानिक जेफ बेरेटका अनुसार यो भाइरसमा भइरहने असामान्य म्युटेसनले अध्ययनलाई थप कठिन बनाएको छ । उनका अनुसार दक्षिण अमेरिकामा जीनोम सिक्वेन्सिङ प्रयोगशालाको अभाव हुँदा पनि यो भेरिएन्ट पत्ता नलागी फैलिने अवसर पाएको थियो ।