सप्तरी – सप्तरीमा ‘अज्ञात रोग’ले एक जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी बिरामी परेका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएका सप्तरीको महदेवा गाउँपालिका वडा न.–२ चकला टाेलकी अन्दाजि ४० वर्षीया सीतादेवी रजकको मृत्यु भएको हो । हिजाे साँझदेखि टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने समस्याभएपछि उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएकी उनको राति साढे ९ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिनुभयाे। फुड प्वाइजनिङ भइ पखाला लागेको हुनसक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृत्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको डा. झाले बताउनुभयाे। सोही लक्षणबाट मृत्यु भएकी रजककै परिवारका तीन जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। उनीहरुको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि धरान रिफर गरिएको छ। यस्तै, महदेवा गाउँपालिका–२ चकला टोलसँगै जोडिएको तिलाठी कोईलाडी गाउँपालिका वडा न.–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१ जना बिरामी छन्।
तिलाठी कोईलाडी गाउपालिका वडा न.–८ का विभिन्न परिवारका सदस्यहरुलाई टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएको स्थानीय कासिहरुले बताएका छन । जसमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ८ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ।