काठमाडौं – नेकपा एमालेको विवाद समाधानका लागि सिंहदरबारमा कार्यदलको वैठक बस्दै गर्दा वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज (शनिबार) कोटेश्वरमा भेटवार्ता भएको छ ।
शनिबार बिहान कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको नेपाल निकट स्रोतले जनाएको छ। एमाले कार्यदलले शनिबार एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल भएको हो। एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरूको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबीच भएको भेटवार्ता भएको हो।
एमाले कार्यदलले तयार पारेको मस्यौदा आज सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ। त्यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनः वार्ता गराउने प्रयास भइरहेको छ। तर नेपाल भने ओलीसँग सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा नरहेको बताइएको छ।