नाकामा प्रहरीसँग भाग पकड, शरीरमा सामान्य चोट
हतियार तथा लागूऔषध कारोबारी गर्ने गिरोहको नाइकेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मस्ट वान्टेड सूचीमा रहेका हतियार कारोबारी बग्गा भनिने प्रदीप यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहार राज्य अररियाको ईन्द्रनगर ग्राम पञ्चायत–१० बस्ने ३९ वर्षीय बग्गा सुनसरी मोरङमा हतियार र तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके हुन् । उनी प्रहरीको मस्ट वान्टेड सूचीमा थिए ।
शनिबार दिउँसो साढे ४ बजे विराटनगर–१६ दरैयाबाट पक्राउ परेका बग्गाको साथबाट लागूऔषध पनि बरामद गरेको छ । डाइलेक्स डिसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाइट्राभेट ५१ चक्की बरामद गरेको हो ।
यस्तो छ बग्गाको पृष्ठभूमि
विराटनगर महानगरपालिका–१६ बाट प्रहरीले २०७५ साल मंसिर ३ गते मेडइन यूएसए लेखेको अटोमेटिक पेस्तोल र चार राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गर्यो ।
पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–१९ का मन्दीप तामाङ र सुनसरीको दुहवी घर भई इटहरी उपमहानगरपालिका–१२ खनामा बस्दै आएका ३५ वर्षीय सुशीलकुमार साहु थिए । अनुसन्धानबाट उक्त पेस्तोल बग्गाले तामाङमार्फत साहुले प्राप्त गर्ने गरी पठाएको खुलेको थियो ।
प्रहरीले चलाएको हातहतियार खरखजना मुद्दामा अदालतले तामाङलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दियो भने साहुलाई पाँच लाख धरौटी मागेको थियो ।
धरौटी वापतको रकम तिर्न नसक्दा साहु पनि थुनामै पुगेका थिए । अहिले पनि यो मुद्दा विचाराधिन अवस्थामै छ । तर यही मुद्दामा जोडिएका भारतबाट हतियार ‘सप्लाई’ गर्ने मुख्य भूमिकामा रहेका यादव भने फरार रहेका थिए ।
त्यस्तै २०७५ साल मंसिर ८ गते विराटनगर–१६ बाटै स्थानीय २२ वर्षीय विद्यानन्द मण्डल, २० वर्षीय अनुप गिरी तीन सय ८० एम्पुल लागुऔषध र एक सय पाँच ग्राम एक सय १० मिलीग्राम ब्राउन सुगर (खैरो हेरोइन) र हतियारसहित पक्राउ परे । शरीरमा टेपले बाँधेर लागुऔषध ल्याएका उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र दुई राउण्ड गोली पनि बरामद भएको थियो ।
प्रहरी अनुसन्धानबाट उक्त पेस्तोल र लागुऔषध मण्डल र गिरीले सुनसरीको धरान घर भई ललितपुर महानगरपालिका–४ एकान्तकुनामा डेरा बस्ने ४१ वर्षीय रुपम राईलाई दिन ल्याएको खुलेको छ । विराटनगर–११ स्थित बसपार्कमा राईको हात लगाउने तयारी हुँदै गर्दा मण्डल र गिरी पक्राउ परेका थिए । अनुसन्धानका क्रममा राईलाई पनि प्रहरीले पक्राउ गरेर तीनै जनाविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलायो ।
अनुसन्धानबाट उक्त लागुऔषध र हतियार बग्गाले नै पठाएको खुलेपछि उनलाई पनि प्रतिवादी बनाएर प्रहरीले मुद्दाको अनुसन्धान अघि बढाएको थियो । जिल्ला अदालत मोरङले मण्डल, गिरी र राईलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हतियार र लागुऔषध ‘सप्लाई’ गर्ने यादव भने फरार थिए । अहिले यो मुद्दा अदालतमा विचाराधिन अवस्थामै छ ।
आधा अपराध घट्छ
प्रहरी नायव उपरीक्षक राईका अनुसार पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबारको घटनामा बग्गाको हात छ ।
बग्गा नै पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने उनले बताए । ‘पूर्व क्षेत्रमा हुने धेरै कारोबारमा यिनकै हात छ,’ राईले भने, ‘बग्गा पक्राउ परेपछि आपराधिक गतिबिधि आधा घट्ने हाम्रो अनुमान छ ।’ उनले अन्य गिरोहको पनि खोजी भइरहेको बताए ।
घरमा झगडा, नाकामा प्रहरीसँग घम्साघम्सी
शनिबार भारतबाट विराटनगर प्रवेश गरेको सूचना पाएपछि दरैया पुगेको प्रहरीलाई यादवलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।
पक्राउ गर्न गएका प्रहरीलाई हातपात गरी उनी भाग्न खोजेका थिए । पक्राउ गर्ने क्रममा एकजना प्रहरी हवल्दार सामान्य घाइते भएका छन् ।
घम्साघम्सी हुँदा बग्गाको शरीरमा पनि चोट लागेको छ । ‘पक्राउ गर्नेक्रममा भाग्न खोजेपछि सामान्य वल प्रयोग भयो,’ राईले भने, ‘सामान्य हातमा चोटपटक लागेको छ ।’ प्रहरीका अनुसार बग्गा शनिबार भारतस्थित घरमा झगडा भएपछि नेपाल प्रवेश गरेका थिए । लागूऔषधसहित नेपाल प्रवेश गरेका उनलाई पक्राउ गर्ने क्रममा प्रहरीलाई हम्मेहम्मे परेको थियो ।