नेपाली काँग्रेस र नेवि संघ सप्तरीका यूवाहरुले कोरोना संक्रमणले जोखिम बढ्दै गएपनि सरकार लापरवाह बन्दै गएको भन्दै आइतबार सरकारबिरुद्ध राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल गेट अगाडी प्रदर्शन गरेका छन् ।
काँग्रेस र नेवि संघका यूवा नेताहरुले अस्पतालको मुल गेटमा करिब एक घण्टा भेन्टिलेटर र आइसियु सेवा संचालन गर्नुपर्ने, कोरोनाको पिसिआर परिक्षण दायरा बढाउनु पर्ने तथा लकडाउन र निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारलाई दोश्रो चरणको राहत उपलब्ध गराउनु पर्ने लगायत माँगसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्दै सरकारले उक्त माँगहरु अविलम्ब सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन ।
भेन्टिलेटर र आइसियुको अभावका साथै लामो समयको बन्दाबन्दीका कारण संक्रमित र विपन्न समुदायको अकालमै ज्यान जाने गरेकाले सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिएको बताए ।
जिल्लामा हालसम्म कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको र संक्रमितको संख्या दिनदिनै बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जनस्तरबाटै भेन्टिलेटर र आइसियु संचालनको माँग उठिरहेको बेला त्यसमा थप बल पुर्याउन सडकमा उत्रनु परेको आन्दोलित यूवाहरुको भनाई छ ।