सप्तरी – प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिने निर्णय भएको छ ।
शिक्षण सिकाइका गतिविधिलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि ०७८ र सिसिएमसीबाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनसम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका ०७७ अनुसार विद्यालयका खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
प्रजिअ आचार्यका अनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्ण पालन गर्ने गरी सम्बन्धित स्थानीय तहले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आवश्यक व्यवस्था मिलाएर विद्यालय सञ्चालन गर्न पाउने निर्णय भएको छ। विद्यालयहरू सञ्चालन भएपछि विद्यालयमा अनिवार्य तापक्रम थर्मल गनबाट परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने उनले बताए ।