रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डोले नाजारियोले लियोनेस मेस्सीलाई क्लबमा भित्र्याए पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यो सिजन च्याम्पियन्स लिग जित्न कठिन हुने चेतावनी दिएका छन् ।
हाल स्पेनिस क्लब रियल भालाडोलिडको अध्यक्ष रहेका रोनाल्डोले रियल म्याड्रिडको उदाहरण दिँदै कागजमा सशक्त देखिँदैमा टोलीले सधैँ युरोपको सर्वोच्च उपाधि जित्न नसक्ने बताएका हुन् । ‘क्वार्टरफाइनल पछि तस्बिर स्पष्ट हुँदै जान्छ । पेरिस सेन्ट जर्मेनको सम्भावना प्रबल छ । तर, कुरा गर्नु र खेल्नुमा फरक हुन्छ,’ उनले भने, ‘मैदानमा नतिजालाई धेरै कुराले प्रभावित गर्छ । ग्यालेक्टिकोस्को टोलीमा मैले रियलका लागि पाँच सिजन खेलेँ तर च्याम्पियन्स लिग कहिले जित्न सकिनँ । तपाईंसँग उत्कृष्ट खेलाडी भए पनि जित्ने कुरा अटोमेटिक हुँदैन ।’
पीएसजी स्टार एम्बाप्पे र आफूबीच केही समानता छ ? भन्ने प्रश्नमा भने उनी स्पष्ट थिए । ‘हो, उनी र ममा धेरै कुरा मिल्छ । उनीसँग अद्भुत गुणहरू छन् र उनले त्यसलाई तीव्र गतिमा लागू गर्छन् । यति सानो उमेरमा नै उनी यति धेरै अगाडि आइसकेका छन् । मलाई एम्बाप्पे मनपर्छ ।’