काठमाडौं – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स आज काठमाडौँ आउँदै छन् ।
फतेमाको टोली नेपालको चारदिने भ्रमणका लागि आज विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौं ओर्लदैछ । सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलिपल्ट उनी एमसीसीबारे छलफल गर्न आउन लागेकी हुन् ।
नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर जवाफ दिएकी छन् । उनले मन्त्री शर्मालाई पत्र लेख्दै एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको स्पष्ट गर्दै यसबारेमा नेपालमा गलत हल्ला मात्र फैलाइएको बताएकी छन् ।
(एमसीसी) ले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ । केही दिनमात्र अघि नेपालले सोधेका प्रश्नको जवाफ दिँदै पत्रमा एमसीसी नेपालमा प्रचार भएजस्तो हिन्द प्रशान्त रणनीति रणनीतिअन्तर्गत नभएको पनि उल्लेख गरिएको छ ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।