सप्तरी – भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लामा एक जना नेपाली चितुवाको छालासहित पक्राउ परेका छन्।
उत्तराखण्डको वन विभागका कर्मचारीले बुधबार नेपालको कञ्चनपुर जिल्लाका बलराज सार्कीलाई पक्राउ गरेको त्यहाँका वन अधिकृतले जानकारी दिएका छन्। पक्राउ परेका नेपालीको तस्वीरसहित हिन्दूस्तान टाइम्सले समाचार छापेको छ। चितुवाको छाला किनबेच हुँदै गरेको सुराक पाएपछि त्यसलाई पछ्याउँदै जाँदा ती नेपालीसम्म पुग्न सकेको वन विभागका एक कर्मचारीले बताएका छन्। उनले हिन्दूस्तान टाइम्सलाई बताए अनुसार सुरक्षाकर्मीलाई देखेपछि भागेका ती नेपालीलाई नियन्त्रणमा लिएर उनीसँग भएको प्लास्टिकको झोला खोली हेर्दा चितुवाको छाला भेटिएको हो।
चम्पावतमा वन्यजन्तुका अंगसहित नेपाली पक्राउ परेको यो पहिलो घटना भने होइन। गएको फेब्रुअरीमा पनि चितुवाका तीन वटा छालासहित एक जना ४५ वर्षीय नेपाली पक्राउ परेका थिए।