सप्तरी – १२ हजार ३८५ नमूना परीक्षणमा १५ सय ५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ८६ सय ६५ नमूनाको पीसीआर र ३७ सय २० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
जसमध्ये पीसीआर विधिबाट १ हजार ८६ र एन्टिजेन विधिबाट ४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको हो। मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप १३ सय ५१ जना कोरोनामुक्त भएका छन्।
कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३८६ जनाको भेन्टिलेटरमा र ११७ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा ६० हजार १५९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।