काठमाडौं – सरकारले असोज ४ गतेदेखि असोज १४ गतेसम्म कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ। दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म दिइनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समूहलाई जिल्ला अनुसार दिने योजना बनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।काभ्रे र चितवनका ३५ वर्ष माथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।त्यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ।
माथि उल्लेखित बाहेक ५८ जिल्लाहरुमा मनाङ, मुस्ताङ, र रुकुमपूवबाहेकका जिल्लाहरुमा भने ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसबाहेक, यसअघि छुटेका अग्रपंतिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई समेत खोप दिइने बताइएको छ।
कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले भने यो खोप लगाउन हुँदैन।