सप्तरी – डोनाल्ड ट्रम्पले निर्वाचनमा पराजित भएपछि पहिलोपटक ह्वाइट हाउसबाट बाहिरिन तयार रहेको बताएका छन् ।
इलेक्टोरल कलेजले डेमोक्रेटका उमेदवार जो बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपति भएको पक्का गरे आफू पद छाड्न तयार भएको उनले बताएका हुन् । उनले अझैसम्म पनि स्पष्टसँग आफ्नो हार स्वीकारिसकेका छैनन् ।नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा, इलेक्टोरल कलेज सिस्टमअन्तर्गत बाइडेनले ३०६ भोट प्राप्त गरी ट्रम्पलाई हराएका थिए । राष्ट्रपति हुन यसमा २७० मत आवश्यक छ जसमा ट्रम्पले भने बाइडेनको तुलनामा धेरै कम २३२ भोट ल्याएका थिए । आगामी जनवरी २० देखि राष्ट्रपतिको कार्यभार ग्रहण गर्ने तयारीमा रहेका जो बाइडनेनसँग इलेक्टोरलहरुले अर्को महिना नै भेटवार्ता गर्ने बताइएको छ ।
यसै साताको सुरुवातमा ट्रम्पले बाइडेनको टोलीसँग कार्यभार हस्तान्तरणको काममा आफ्नो प्रशासनलाई सहकार्य गर्न सहमति जनाएका थिए । यसबीच बिहीबार उनलाई इलेक्टोरल कलेज भोटमा हार बेहोरेकामा ह्वाइट हाउसबाट बाहिरिन तयार भए नभएकाबारे प्रश्न गर्दा उनले, “अवश्य पनि म तयार छु । तपाईंहरुलाई पनि थाहा छ उनले निष्पक्ष जितेको पक्का भए, म ह्वाइट हाउस छाड्नेछु” भनेका हुन् । तर इलेक्टोरलहरुले बाइडेनलाई छनोट गरे त्यो गल्ती हुने पनि उनले बताए र आफूले कहिल्यै हार स्वीकार नगर्ने संकेत गरेका हुन् ।
उनले फेरि पनि चुनावमा धाँधली भएको आफ्नो आधारहिन दाबी दोहोर्याउँदै पद हस्तान्तरण गर्ने कार्य धेरै कठिन हुने बताएका छन् । र जनवरी २० मा बाइडनेको ह्वाइट हाउस प्रवेश कार्यक्रममा उपस्थिति हुनेसम्बन्धी पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।