मुम्बई नजिकैको समुद्रमा एउटा क्रुज जहाजमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेर एक चर्चित अभिनेताका छोरासहित १० जनालाई हिरासतमा लिएको छ ।
ड्रग्स पार्टी भइरहेको सूचनाको आधारमा कर्डेलिया द इम्प्रेस नामक जहाजमा एनसीबीको टोलीले छापा मारेको बताइएको छ । ती अभिनेताको बारेमा प्रहरीले थप जानकारी दिएको छैन । एनसीबसीका अधिकारीहरू यात्रु भनेर क्रुजमा सवार भएका थिए । शनिबार रेभ पार्टी चल्दै गर्दा उनीहरूले छापा मारेका थिए । भारतीय मिडियाका अनुसार क्रुजबाट ठुलो मात्रामा लागू औषध बरामद गरिएको छ । यसको मूल्य करोडौँ रहेको बताइएको छ । यसमा एमडी कोक र हशीश रहेको समाचारमा उल्लेख छ । पक्राउ गरिएका सबैलाई आइतबार मुम्बई ल्याइएको छ ।
क्रुजमा आयोजना गरिएको ड्रग्स पार्टीको प्रवेश शुल्क ६० हजारदेखि ६ लाख भारतीय रुपैयाँ रहेको थियो । एनसीबीले छापा मार्दा क्रुजमा ६ सयभन्दा बढी हाइप्रोफाइल व्यक्तिहरू थिए । उक्त क्रुजको क्षमता १८ सय रहेको थियो । सबै हाइप्रोफाइल व्यक्तिहरूलाई सामाजिक सञ्जालका माध्यमबाट आमन्त्रण गरिएको थियो ।
शुक्रबार मात्र एनसीबीले अस्ट्रेलिया र न्यूजिल्याण्ड लागू औषध पठाउने ठुलो समूहको पर्दाफास गरेको थियो । त्यहाँ करिब ५ करोड भारु बराबरको लागू औषधसमेत बरामद गरेको थियो ।