माछा मार्ने अधिकारीलाई लिएर फ्रान्स र बेलायतबीच तनाव थप चर्किएको छ । फ्रान्सले बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
फ्रान्स सरकारले बुधबार बेलायतमाथि लगाइने सम्भावित प्रतिबन्धको सूची सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । आगामी हप्तासम्म कुनै सम्झौता हुन नसके फ्रान्सले आफ्ना केही बन्दरगाहमा बेलायती ‘फिशिङ बोट’लाई निषेध गर्ने बताएको हो ।त्यस्तै फ्रान्सले च्यानल द्विप समूहमा इन्धन आपूर्ति बन्द गर्ने चेतावनी समेत दिएको छ । बेलायती जल क्षेत्रमा आफ्ना डुंगालाई थप पहुँच नदिएको खण्डमा नोभेम्बर २ देखि फ्रान्समा आउने बेलायती वस्तुमाथि कठाइका साथ भन्सार तथा स्यानिटरी चेकजाँच गरिने र सी फुडमाथि प्रतिबन्ध लगाइने फ्रान्स सरकारका ग्याब्रियल अट्टले बताए फ्रान्सका युरोप मामिला मन्त्री क्लेमेन्ट बिउनले समेत अन्य व्यापारिक वस्तुमाथि थप कठाइ तथा चेकजाँच गर्न सकिने बताएका छन् । तर बेलायतका ब्रेक्जिट मामिला मन्त्री डेभिड फ्रस्टले फ्रान्सको धम्कीलाई ‘निराशाजनक’ भनेका छन् ।
नजिकको मित्र र साझेदारबाट यस्तो अपेक्षा नगरिएको भन्दै फ्रस्टले भने, ‘फ्रान्सको धम्की निराशाजनक तथा असमान छ र नजिकको मित्र तथा साझेरदारबाट यस्तो अपेक्षा गरिँदैन ।’ब्रेक्जिटपछि बेलायतले आफ्नो जल क्षेत्र वरपर र च्यानल द्धिपसमूहमा माछा मार्न चाहने युरोपेली डुंगालाई इजाजतपत्र दिने कार्यमा कठाइ गरेपछि फ्रान्ससँग विवाद बढ्दै गएको हो । विशेषगरी बेक्जिटपछि बेलायतको अधिनमा रहेको स्वशासित च्यानल द्धिपसमूहमा माछा मार्ने अधिकारलाई दिएर दुबै मुलुकबीच विवाद उत्पन्न भएको छ । युरोपेली युनियनका माछा मार्ने डुंगामाथि जर्सी टापूको सरकारले कडाइ गरेपछि मे महिनामा फ्रान्सेली मछुवाले विरोध प्रदर्शन गरेका थिए ।
फ्रान्सका मछुवाले अबरोध गर्ने चेतावनी दिएपछि बेलायतले जर्सी टापूमा गस्ति गर्ने डुंगा पठाएको थियो ।