एक वर्षमा २० जना डाक्टर कारवाहीमा
काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले १ बर्षमा २० जना चिकित्सकलाई कारवाही गरेको छ । २०७७ साउनदेखि २०७८ असोजसम्म परेका ५७ उजुरी मध्येबाट हालसम्म २० जना चिकित्सक कारवाहीमा परेका हुन् ।
काउन्सिलले उजुरी उपर छानविन गर्दा २० जना चिकित्सकले गरेको उपचारमा त्रुटी भेटिएपछि उनिहरुलाई कारवाही गरेको हो । अझै ३१ उजुरीका सम्बन्धमा छानविन भइरहेको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले बताए ।
यस्तै ५७ उजुरी मध्य काउन्सिलको कार्यक्षेत्र बाहिरका ६ उजुरी रहेकाले ति उजुरीहरुलाई तामेलीमा राखिएको जनाइएको छ । कारबाही गरिएका चिकित्सकलाई उपचारमा भएको त्रुटीका आधारमा एक वर्षसम्म खास सेवा प्रदान गर्न रोकदेखि तीन महिनासम्म निलम्बन गरिएको छ ।
आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएको, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि र बिरामी नहेरीकनै मानसिक समस्या भएको भन्दै गलत रिपोर्ट दिने गरेको तथ्यका आधारमा काउन्सिलले यसभन्दा अघि धेरै चिकित्सकमाथि कारबाही गरिसकेको छ ।