बुटवल – राष्ट्रपति विद्यादेवी भण्डारीआइतबार बुद्धजन्मस्थल लुम्बिनी आउँदै छिन् ।
पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमा आउने राष्ट्रपति लुम्बिनी र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हुने कार्यक्रममा सहभागी हुनेछिन् ।
राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ११ बजेसम्ममा लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए।
उनका अनुसार लुम्बिनीमा राष्ट्रपति भण्डारीले बज्रयान विहार उद्घाटन र प्रार्थना गर्नेछिन्।
विहार उद्घाटनपछि मायादेवी मन्दिर दर्शन र प्रार्थनाको कार्यक्रम छ। सोही क्रममा उनले लुम्बिनी गुरुयोजनाको प्रगतिबारे जानकारी लिने उनले बताए। लुम्बिनीमा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय सभा हलको अवलोकन गरेर उनी गौतमबुद्ध विमानस्थलमा हुने कार्यक्रममा सहभागी हुनेछिन् ।
विमानस्थलमा राष्ट्रपतिले साढे दुई अर्ब रुपैयाँ मूल्यको ‘ह्वाईट जेड’ धातुले बनेको बुद्ध मूर्ति अनावरण गर्ने कार्यक्रम छ।
म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा राख्न ल्याइएको हो।
दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो।
बुद्धमूर्ति अनावरण कार्यक्रममा नेपालका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड, स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुईजना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ।
१.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको छ।
उक्त बुद्ध मूर्तिलाई गत हप्ता बौद्ध भिक्षुहरूद्वारा मन्त्रोच्चारण गरी सिद्धार्थनगर नगर परिक्रमा गराई लुम्बिनीसम्म शान्ति ¥यालीसहित विमानस्थलमा ल्याएर राखिसकिएको छ।
मूर्ति स्थापना र अनावरणपछि लुम्बिनी, भैरहवा, तौलिहवा, देवदह, रामग्रामलगायत आसपासका स्थानीय पालिकामार्फत नेपाल सरकारलाई प्रदान गरिने फाउन्डेसनका महासचिव एकराज गिरीले बताए।
उनले बुद्ध जन्मस्थलको प्रवेशद्वारको रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगिसकेकोले यहाँ आउने पर्यटकहरूलाई लुम्बिनी र बुद्धको बारेमा अझै बढी जानकारी होस् र सबैले दर्शन गर्न पाऊन् भन्ने उद्देश्यले विमानस्थलमै राख्ने निर्णय गरिएको बताए।