काठमाडौं- बलिउड स्टार विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाह बारेका समाचारहरु आइरहेका छन्। दुवै जनाले यसको पुष्टि गरेका छैनन् तर, राजस्थानमा प्रशासनले दुवै हस्तिको विवाहका लागि सुरक्षा व्यवस्था कायम राख्न तयारी गरिरहेको छ।
विवाहको विषयमा छलफल गर्न शुक्रबार सवाई माधोपुरमा जिल्ला अधिकारी राजेन्द्र किशनको अध्यक्षतामा एक बैठक बोलाइएको थियो। यसमा विवाह योजनाकार, होटल मालिक, प्रहरी अधिकारीसमेत सम्बन्धित अधिकारी उपस्थित थिए।
बैठकपछि सवाई माधोपुर जिल्ला कलेक्टर राजेन्द्र किशनले बीबीसीसँग भने, ‘स्थानीय प्रशासनसँग बैठक बसेको छ। चौथको बरवाडामा सरसफाई र सुरक्षा व्यवस्था राम्रो राख्न निर्देशन दिइएको छ। कुनै घटना नहोस् र ट्राफिक र यातायात सुचारु रहोस् भन्नेबारेमा कुराकानी भएको छ।’
कलेक्टरका अनुसार विवाह समारोह डिसेम्बर ७ देखि १०(मंगलबारदेखि शुक्रबार) सम्म चल्ने छ र यसमा १२० जना पाहुना आउने छन्। उनका अनुसार कोरोना सम्बन्धी मापदण्डको ख्याल राखिने छ।
उनका अनुसार विवाहमा उपस्थित हुनेले दुवै डोज कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्छ। खोप लगाएकाहरुको पनि आरटी पिसिआर टेस्ट अनिवार्य गरिएको छ र होटल प्रवन्धकले आफ्ना स्टाफका लागि हेल्प डेक्स लगाएका छन्।
सवाई माधोपुरका सहायक जिल्ला कलेक्टर डा सुरज सिंह नेगीले पत्रमा लेखेका छन्। ‘अभिनेता श्री विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाह समारोहको आयोजना पूर्व भीड नियन्त्रण, कानुनी व्यवस्था एवं सम्भावित स्थितिको आकलन एवं आवश्यक व्यवस्था सुनिश्चित गर्नका लागि जिल्ला कलेक्टरको अध्यक्षतामा बिहीबार विहान सवा १० बजे कलेक्ट्रेट सभागृहमा बैठक आयोजना गरिएको छ।’
माधोपुरमा विवाहको तयारी
राजस्थानमा सवाई माधोपुर जिल्ला मुख्यालयबाट करीब १८ किलोमीटर पर चौथको बरवाडामा एक पहाडी क्षेत्रमा करीब ७ सय वर्ष पूरानो दरबार होटलमा विवाह कार्यक्रम राखिएको जनाइएको छ।
विवाहका बारेमा विक्की र कट्रिनाले नबताएपनि विवाह कार्यक्रमका लागि आजबाट पाहुन आउन सुरु हुने छन्। बरवाडा फोर्टमा पाहुनका लागि ४ देखि १२ डिसेम्बरसम्मका लागि कोठाहरु बुक गरिएको बीबीसीले जनाएको छ। तर मिडिया रिपोर्टहरुका अनुसार कट्रिना र विक्की भने ६ डिसेम्बरमा मात्र सवाई माधोपुर पुग्ने छन्।
होटलमा ६ देखि ८ डिसेम्बरसम्म कोठा बुकिङका लागि सम्पर्क गर्दा सातदेखि १२ तारिखसम्म होटलमा बुकिङ नहुने जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
एक स्थानीय पत्रकारका अनुसार पाहुनाको सुरक्षाका लागि खटिएका बाउन्सर र गाडीका ड्राइभरका लागि नजिकको होटल र धर्मशालामा बुकिङ गरिएको छ।
७०० वर्ष पूरानो दरबारमा विवाह
राज्यमा शाही विवाहको कुरा गर्ने हो भने उदयपुरमा व्यापारी र बलिउड सेलिब्रेटीको विवाह भइसकेको छ। तर सवाई माधोपुर पहिलो पटक शाही विवाहको साक्षी बन्दै छ। अब विक्की र कट्रिनाको एक आलिशान होटलमा विवाह हुँदैछ।
यस होटलको शुरुआत यसै वर्ष अक्टोबरमा भएको हो। यसको उद्घाटनका लागि बलिउड अभिनेत्री मलाइका अरोडा त्यहाँ पुगेकी थिइन्। एक स्थानीय पत्रकारका अनुसार बरवाडा फोर्टमा ४८ कोठा छन् । जहाँ एक कोठाको एक दिनको भाडा ५० हजारदेखि सात लाख भारतीय रुपैयाँसम्म रहेको छ।
कट्रिना र विक्की कौशलका लागि अलग-अलग सुइट बुक गरिएको छ र एक सुइटको एक दिनको भाडा सात लाख रुपैयाँ पर्छ।
एक स्थानीय पत्रकारले होटलको स्रोत उल्लेख गर्दै जनाए अनुसार विवाहको सुरुवात ७ डिसेम्बरमा सांगीतिक कार्यक्रमसँग हुनेछ। विवाह भने ९ डिसेम्बरमा हुनेछ। मेहन्दी कार्यक्रम ८ डिसेम्बरमा हुने छ। त्यसका लागि विश्वप्रसिद्ध सोजतको मेहन्दी मगाइएको छ।
सोजतको मेहन्दीका लागि प्रख्यात पाली जिल्लामा नेचुरल हर्बल कम्पनीका नीतीश अग्रवालले म्यानेजरलाई जयपुरबाट एक इभेन्ट कम्पनीको फोन आएको बताए। उनका अनुसार कट्रिनाको विवाहका लागि मेहन्दीको कुरा भएको थियो।
शाही विवाहमा को-को सहभागी हुन्छन् भन्ने जानकारीमा आएको छैन। तर, यसमा वलिउडका हस्तिका साथै व्यापारी र राजनीतिक पार्टीका हस्तिहरुको उपस्थिति हुने अनुमान गरिएको छ। त्यसै अनुसार प्रहरीले सुरक्षा निगरानीसमेत बढाएको छ।