काठमाडौं – साइकल आविष्कारको करिब सय वर्ष पुग्न लाग्दा सन् १९१० मा तत्कालीन अंग्रेज सरकारले भारतमा ३५ हजार थान साइकल बेलायतबाट भित्र्याएका थिए । विभिन्न प्रयोजनका लागि भारत ल्याइएको यही साइकल त्यसबेलाका राणा श्री ३ महाराजाका छोरा नातिका लागि ‘केही साइकल’ भित्रिएको अनुमान छ ।
श्री ३ वीर शमशेरका वैज्ञानिक छोरा गेहेन्द्र शमशेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै ‘वैज्ञानिक आविष्कार’ हुन पाएन । तर, उनका छोरा शूरशमशेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको इतिहासमा उल्लेख छ ।
तीर्थनारायण मानन्धरले आफ्नो पुस्तक ‘काठमाडौः उहिले र अहिले’मा सूर शमशेर नै साइकल भित्र्याउने व्यक्ति रहेको अनुमान सन् १९०३ गरिएको छ । तर, भारतमा अंग्रेज सरकारका समय पहिलो खेप सन् १९१० मा ३५ हजार थान साइकल भित्रिएको हुँदा सोही समय नै नेपालमा साइकल भित्रिएको सहजै बुझ्न सकिन्छ । यसपछि भारतीय व्यापारी सुधीरकुमार सेनले भारतमा साइकल व्यवसाय सुरुवात नै गरे । उनले बेलायतको प्रख्यात साइकल ‘रेलै साइकल’ ‘सेन रैले’ साइकल उत्पादनसमेत गरे ।
सन् १९१० अर्थात् विसं १९६७ ताका नेपालमा पहिलो पटक साइकल भित्र्याउने सूर शमशेर सौखिन राणा सन्ततीमा पर्दथे । श्री ३ वीर शमशेरले काठमाडौंको सबैभन्दा बढी सुविधासम्पन्न सेतो दरबार छोरा गेहेन्द्रका लागि बनाइदिए पनि उनको युवाकालमै देहान्त भएपछि सो दरबार सूर शमशेरको हकमा आएको थियो । सौखिन सूर शमशेरले त्यतिबेलै मूक चलचित्रको ठूलो संग्रह सेतो दरबारमा राखेका थिए । उनी अत्तरका सौखिनसमेत थिए । जसका कारण विभिन्न किसिमका अत्तरको संग्रहसमेत उनले गरेका थिए ।
बाजे धीरशमशेर लखनऊमा आक्रमणमा जाने समय नवावको दरबारबाट लिएर आएका विभिन्न अत्तर उनको संग्रहमा थिए । तर, दुखद १९९० वैशाखमा सेतो दरबारमा भएको भयानक आगलागीमा दरबारमात्र होइन, उनको संग्रहमा रहेका कतिपय महत्वपूर्ण वस्तु जलेर नष्ट भए । भनिन्छ, अत्तर संग्रहमा आगलागी हुँदा त्यसको वास्नाले पूरै काठमाडौं सहर सुगन्धित भएको थियो ।
सूर शमशेरको समय सौखिन राणाबीचमै सीमित रहन पुगेको साइकल यसको केही समयपछि नै विश्व युद्धको चपेटामा प्रमुख राष्ट्र पुगेपछि नेपाल पनि अछुटो रहन सकेन । नेपालका तत्कालीन महाराजा श्री ३ चन्द्र शमशेरले पनि अंग्रेजको सहायतार्थ नेपाली युवालाई गोर्खाली सैनिकका रूपमा युद्धमा होमिन बाध्य बनाए ।
साथै, नेपाली सेनालाई पनि छोरा बबरशमशेर नेतृत्वमा प्रथम विश्वयुद्धमा पठाए । युद्धका कारण दुई लाख नेपाली होमिए भने करिब २० हजारले जीवन गुमाए, त्यति नै संख्यामा अंगभंग भएर स्वदेश फर्किए ।
युद्धले नेपाली युवाको मृत्यु भए पनि फर्किएका नेपाली लाहुरेले भने तत्कालीन समय करिब १५ करोडबराबरको भारतीय कम्पनी तथा विभिन्न जिन्सी भित्र्याएका थिए । यसरी भित्रिएको जिन्सीमा साबुन, चुरोट, लाइटर, ब्लेड, तास, जुत्ता, मोजालगायत थिए । यसका साथै कतैकतै आफूले युद्धमा प्रयोग गरेको साइकलसमेत लिएर आएको इतिहासमा भेटिन्छन् ।