सिमकोट – जिल्लाकै दुर्गम बस्तीमा पर्ने चाला गाउँमा पुगेर स्वास्थ्यकर्मीले पहिलो पटक उपचार गरेका छन्। स्वास्थ्य शाखाको लक्ष्यअनुरूप दुर्गम बस्तीमा पुगेर उपचार गरिएको हो।
नाम्खा गाउँपालिका–४ को चाला गाउँका स्थानीय उटुप लामाले पहिलो पटक स्वास्थ्यकर्मी आएर बिरामीको घरघरमै पुगेर उपचार गरिएको बताए।
उक्त गाउँबाट गाउँपालिका केन्द्र पुग्न एक दिन पैदल लाग्छ। तीन जना स्वास्थ्यकर्मी बिरामीको उपचार गर्नकै लागि हिमपातमा पनि पुग्दा दूरदराजको गाउँ चालाका बिरामीलाई निकै सहयोग मिलेको सेवाग्राहीले बताएका छन्।
सडक सञ्जाल नजोडिएको गाउँमा बिरामी पर्दा लामा बसाल्ने र झारफुक गर्नेबाहेक विकल्प नभएको बेला स्वास्थ्यकर्मी पुगेर उपचार गर्दा बिरामीको दुखेको घाउमा मलम लगाउने कार्य भएको हो।
सो गाउँमा स्वास्थ्य चौकी नहुँदा स्थानीयले सदरमुकाम सिमकोट वा गाउँपालिका केन्द्र याल्वाङमा रहेको स्वास्थ्य चौकीबाट चार÷पाँच महिनाअगाडि लिएको सिटामोलले काम चलाउने गर्दै आएका थिए।
गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाले चाला गाउँका बिरामीले उपचार नपाउने अवस्थालाई ध्यानमा राखी घरदैलो कार्यक्रम सञ्चालन गरिएको बताए।
यसका लागि गाउँपालिकाले तीन जना स्वास्थ्यकर्मी चेकजाँचका लागि उपकरण र औषधि लिएर घरघरमा पुगी उपचार गरेको हो।
गाउँका ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिका गरी ३५ जना जटिल रोगका बिरामीको उपचार गरिएको थियो। त्यससँगै उक्त गाउँका अधिकांश स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको हो।
हिउँदमा चाला गाउँमा मानिसको आउजाउ कम हुने गरे पनि स्वास्थ्यकर्मी घरघरमै पुगेर उपचार गरेका हुन्। संघीयता कार्यान्वयनसँगै वडा–वडामा रहेका स्वास्थ्य संस्थाले पछिल्लो समय स्वास्थ्य क्लिनिक र घरदैलो कार्यक्रम अगाडि बढाउँदा सेवाग्राहीलाई सहज भएको छ ।