९ भदौ, सप्तरी । सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नम्बर गणबाट खटिएको गस्ती टोलीले मंगलबार बिहान सप्तकोशी नदीमा डुङ्गामा अवैध तरिकाबाट भारततर्फ लैजादै गरेको १७५ बोरा हरियो मटर बरामद गरेको छ ।
खटिएको गस्ती टोलीले जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ११ स्थित गोबरगाढाबाट अवैध रुपमा छ वटा डुङ्गामा भारततर्फ लादै गरेको अवस्थामा १७५ बोरा हरियो मटर नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नम्बर गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले प्रत्येक बोरामा २० किलोका दरले मटर भएको उनले बरामद मटरको बजार मूल्य तीन लाख ५० हजार रहेको जानकारी दिए । नेपाल भन्दा भारतमा मटरको बिक्रि मूल्य अत्यधिक रहेकोले तस्करहरुले तीन वटा सानो र तीन वटा ठूलो डुङ्गामा लोड गरि बिहान ४ बजेतिर भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीको गस्ति टोलीले नियन्त्रण लिएको उनले बताए । बिहान ४ बजे अंध्यारो नै रहेकोले तस्करहरु फरार हुन सफल भएको र खोजी कार्य भइरहेको उनले बताए ।
पहिला पनि कोशी नदीको बाटो हुँदै डुङ्गाबाट विभिन्न सामानहरु भारततर्फ तस्करी हुने गरेको सूचना आएपछि सो क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले बताए । नियन्त्रणमा लिइएको मटर र डुङ्गालाई तिलाठी कोइलाडी गाउँपालिका १ बेलही स्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको छ ।
आइतबार पनि सशस्त्र प्रहरीले ट्रकसहित ३० लाख मूल्य बराबरको छ सय कार्टुन मदिरा नियन्त्रणमा लिएको थियो । भारततर्फ लादै गरेको अवस्थामा जिल्लाको राजगढ गाउँपालिका वार्ड नम्बर १ बनैनिया स्थित झौरहा चोक नजिकैबाट नियन्त्रणमा लिएको थियो ।