काठमाडौं – दोलखाको कालिञ्चोकमा सञ्चालित केबलकारको क्षमता विस्तार गरिने भएको छ। कालिञ्चोक केबलकार प्रालिले क्षमता विस्तार गर्ने भएको हो। हाल सञ्चालित क्षमतालाई झन्डै दोब्बर बनाउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
हालकै संरचनालाई डब्बा बढाएर १६/१६ जना क्षमताको बनाउने कि चेयर लिफ्ट राख्ने भन्नेबारे छलफल भइरहेको कम्पनीले जनाएको छ। अहिले चारवटा डब्बा छन् । एकोहोरो प्रणाली भएकाले दुईवटा जाने, दुईवटा आउने गर्दछन्। एक डब्बामा छ जना मात्र अट्छन्।
वर्षको करिब दुई महिना हिउँ पर्छ, त्यतिखेर यात्रुको चाप बढी हुन्छ। अहिलेको अवस्थामा केबलकारको सञ्चालन खर्च मात्र निस्किएको कम्पनीको दाबी छ। कम्पनी सञ्चालनलाई सहज बनाउन अहिले आईपीओ निष्कासनको तयारीसमेत गरिएको छ।