काठमाडौं – १० खेलाडीमा सीमित भएको बुर्किना फासोले ट्युनेसियालाई १–० ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा स्थान बनाएको छ । बुर्किना फासोसँगै आयोजक क्यानरुनले पनि गाम्बियालाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
बुर्किना फासोको जितमा १९ वर्षीय डान्गो औटाराले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल निर्णायक बन्यो । ८२औँ मिनेटमा अली मालौललाई फाउल गरेपछि औटाराले रातो कार्डको सामना गरेका थिए ।
बुर्किना फासोले अब फाइनल प्रवेशका लािग सेनेगल र इक्वेटोरियल गिनीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । तर, उक्त खेलमा औटारा हुने छैनन् ।
बुर्किना फासोले खेलेका सबै क्वार्टरफाइनल जित्न सफल भएको छ । बुर्किना फासोले यसअघि तीन क्वार्टरफाइनल खेलेको थियो । ट्युनेसिया यसअघि सातमध्ये ६ क्वार्टरफाइनलमा पराजित भएको थियो । बुर्किना फासो सन् २०१३ को संस्करणमा फाइनलमा पराजित भएको थियो ।
इकाम्बीको दुई गोलमा आयोजक सेमिफाइनलमा
शनिबार राति नै कार्ल टोको इकाम्बीले गरेको दुई गोलमा आयोजक क्यामरुनले गाम्बियालाई पाखा लगाएको हो । कडा सुरक्षा व्यवस्था गरिएको खेलमा इकाम्बीले ५०औँ मिनेटमा गरेको गोलबाट क्यामरुनले अग्रता लिएको थियो । त्यसको सात मिनेट नबित्दै इकाम्बीले अर्को गोल थपेपछि क्यामरुनको जित पक्का भएको हो ।
क्यामरुनले अब फाइनल प्रवेशका लागि इजिप्ट र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
गाम्बियाले पहिलोपटक प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो । गाम्बियाले समूहमा मौरिटाना र ट्युनेसियालाई हराएको थियो भने अन्तिम–१६ मा गिनीलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।