काठमाडौँ – अब मुलुकमै बाल शल्य चिकित्साको अध्ययन अध्यापन हुने भएको छ । कान्ति बाल अस्पतालको लामो संर्घषपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले यो विषय पढाउने व्यवस्था मिलाएको हो । यसअघि यो विषय अध्ययन गर्ने विद्यार्थीहरू चीन, भारत, पाकिस्तान, बंगलादेशलगायत मुलुकमा धाउनुपर्ने बाध्यता थियो । नेपालमा बाल शल्य चिकित्सक २४ जना मात्र रहेको अस्पतालले जनाएको छ । तीमध्ये कान्तिमा ४ जना कार्यरत छन् ।
बाल शल्य चिकित्सकले बालबालिकाको मुटु, कलेजो, स्नायु, मृगौला जस्ता जटिल शल्यक्रिया गर्छन् । कान्ति बाल अस्पतालका निर्देशक डा.अजित रायमाझीले कान्तिले १७ वर्षअघि नै शल्य चिकित्साको आवश्यकता महसुस गरेपनि विभिन्न कारणले अध्यापन गराउन नसकिरहेको बताए । ‘सबैको साथ सहयोगले नेपालमै पढ्ने वातावरण बनेको छ,’ उनले भने, ‘अब सर्वसाधारणले सहज रुपमा सेवा पाउने विश्वास छ ।’ उनका अनुसार दक्ष जनशक्ति अभावकै कारण जर्नरल सर्जरीले पनि बाल शल्य चिकित्सा सम्बन्धि सेवा दिन बाध्य छन् । ‘हामीसँग बाल शल्य चिकित्सा सञ्चालन गर्न ठाउँ र बिरामी दुवै छ,’ उनले भने ।
सामान्यतः कान्तिमा वर्षेनि ओपीडीमा १८ हजार बिरामी आउँछन् । तीमध्ये औसतमा २५ प्रतिशत जति बिरामी शैल्यकृया गर्नुपर्ने खालका हुन्छन् । कान्तिले वर्षेनी २ हजार जनाको अपरेसन गर्दै आइरेका छन् । सरकारीमा १० हजार रुपैयाँमा हुने यी सर्जरी निजीमा गर्नुपर्दा ४ देखि ५ लाख रुपैयाँ तिर्नुपर्छ । नवजात शिशुको अपरेसन भने कान्तिमा बाहेक अन्य सरकारी अस्पतालमा छैन । निजीमा पनि दुई वटा मात्र छ । यसले सरकारीमा बिरामीको चाप अत्याधिक हुने गरेको छ । चापकै कारण बिरामीले अपरेसन गराउन डेढदेखि २ वर्षसम्म कुर्न बाध्य छन् । बाल शल्य चिकित्सा अध्ययन अध्यापनको सुरुवातले सर्वसाधारण बिरामीको उपचारमा केही हदसम्म सहज हुने विश्वास लिइएको छ ।
कान्ति बाल अस्पताल महाराजगञ्जमा बालशल्य चिकित्साको अध्ययनका लागि छनोट भएका विद्यार्थीलाई स्वागत गर्दै निर्देशक डा.अजित रायमाझी (बीच) । तस्बिर : प्रशान्त/कान्तिपुर
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का डिन प्रा.डा.पियुष दाहालले यो वर्ष एक जनाबाट सुरु गरिएको पढाइमा क्रमश: विद्यार्थीको संख्या बढाउँदै लैजाने बताए । ‘बाल शल्य सेवा उपत्यका बाहिर दिन सकिरहेको छैन,’ उनले भने, ‘जनशक्ति पर्याप्त भएमा उपत्यका बाहिर पनि सेवा विस्तार गर्न सकिनेछ ।’
कान्तिले छुट्टै राष्ट्रिय बाल रोग अध्ययन प्रतिष्ठान स्थापना गर्न गुरुयोजना तयार पारेर स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालय र बजेटका लागि अर्थ मन्त्रालयमा पेस गरिसकेको जनाएको छ । प्रतिष्ठान स्थापना भएमा बालबालिकाको मुटु, नसा, स्नायु, मृगौला, आईसीयू, नवजात शिशु, सरुवा रोगलगायत सम्बन्धी अध्ययनकै लागि विदेश जानुपर्ने बाध्यता हट्नेछ ।
अहिले सरकारीले मात्र नभई बालबालिकाको मुटु, स्नायु, मृगौला सम्बन्धी अध्ययन अध्यापन निजी विश्व विद्यालयहरूले पनि गराउन सकिरहेका छैनन् ।
कान्तिका निर्देशक डा.रायमाझीले कोभिडका कारण बजेट पास नगरेपनि राज्यले नितिगत रुपमा भएपनि स्वीकृति गर्न अनुरोध गरे । ‘प्रतिष्ठान स्थापना गर्न १३ अर्ब रुपैयाँ बजेट आवश्यक पर्छ,’ उनले भने । कान्तिले एक महिनापछि बाल स्नायु रोग सम्बन्धी फेलोसिप सञ्चालनमा ल्याउने तयारी थालेको जानकारी डा.रायमाझीले दिए । आइतबार एक समारोहबीच बालशैल्य चिकित्सा अध्ययनमा छनोट भएका विद्यार्थीलाई कान्तिले स्वागत गरेका छन् ।