सप्तरी – अहिले कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट प्रतियोगिता धमाधम चलिरहेको छ। हालसम्म १५ राष्ट्रले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।
कतार आयोजक राष्ट्रका नाताले सिधै छनोट हुँदा अन्य राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा युराेपेली छनोटका १० समूहका समूह विजेता तथा दक्षिण अमेरिका तथा एसियाबाट दुई-दुई टोली छन् ।
युरोपेली छनोटको समूह ‘ए’ बाट सर्वियाले सिधै विश्वकपमा स्थान बनाउँदा पोर्चुगलले प्लेअफ खेल्नुपर्नेछ । समूह ‘बी’ बाट स्पेनले स्थान बनाउँदा स्विडेनले प्लेअफ खेल्ने पक्का भएको छ ।
यता, समूह ‘सी’ मा स्विट्जरल्यान्डले सिधै स्थान बनाउँदा इटालीले प्लेअफ खेल्नेछ भने समूह ‘डी’ बाट साविक विजेता फ्रान्स सिधै विश्वकपमा स्थान बनाउँदा युक्रेनले प्ले अफ खेल्नेछ ।
यस्तै समूह ‘इ’ बाट बेल्जियमले स्थान बनाउँदा वेल्सले प्लेअफ खेल्नेछ । समूह ‘एफ’ बाट डेनमार्कले सिधै विश्वकपमा स्थान बनाउँदा स्कटल्याण्डले प्लेअफको मौका पाएको छ ।
समूह ‘जी’ बाट नेदरल्याण्ड समूह विजेतासहित विश्वकपमा स्थान बनाउँदा उपविजेता टर्कीले प्लेअफ खेल्नेछ । समूह ‘एच’ मा क्रोएसियाले विश्वकपमा स्थान बनाउँदा रसियाले प्लेअफ खेल्नुपर्ने भएको छ ।
समूह ‘आई’ बाट इंग्ल्याण्ड समूह विजेता बन्दा पोल्याण्डले प्लेअफ खेल्ने भएको छ । समूह ‘जे’ बाट जर्मनीले सिधै स्थान बनाउँदा नर्थ म्यासेडोनियाले प्लेअफबाट विश्वकप यात्राको मौका पाएको छ ।
युइएफ नेसन्स लिगबाट चेक रिपब्लिक र अस्ट्रियाले प्ले अफ खेल्ने अवसर प्राप्त गरेका छन् ।
अब, युरोपबाट १० समूहका १० उपविजेता र दुई नेसनल लिगका टोली गरी जम्मा १२ टोलीले प्लेअफ खेल्ने मौका पाउनेछन् । जसबाट तीन टोलीमात्र विश्वकपमा स्थान बनाउनेछन् ।
मार्चमा हुने प्लेअफको खेलमा १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ र जसको विजेताले विश्वकपमा स्थान बनाउनेछ ।
उत्तर/केन्द्रीय अमेरिका तथा क्यारेवियन क्षेत्र, असियन र अफ्रिकाबाट छनोट हुने टोलीको पक्का नहुँदा दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिनाले तथा एसियाबाट इरान र दक्षिण कोरियाले विश्वकपमा स्थान बनाइसकेका छन् ।
दक्षिण अमेरिका र एसियाबाट थप दुई-दुई टोलीले छनोटबाट विश्वकपमा स्थान बनाउँदा एक-एक टोलीले प्लेअफको मौका पाउनेछन् ।
अफ्रिकाबाट ५, उत्तर/केन्द्रीय अमेरिका तथा क्यारेवियन क्षेत्रबाट ३ टोली सिधै छनोट हुने छन् भने एक टोलीले प्ले अफ खेल्दा त्यस्तै असियन क्षेत्रबाट एक टोलीले प्ले अफ खेल्नेछ ।
यी हुन् विश्वकपमा स्थान सुरक्षित गरेका १५ राष्ट्र :
बेल्जियम, क्रोएसिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, सर्विया, स्पेन, स्विट्जरल्याण्ड, ब्राजिल, अर्जेन्टिना, कतार (आयोजक), इरान र दक्षिण कोरिया