सप्तरी – कोरोनाको तेस्रो लहरको कारण बन्द भएका फिल्म हल १ फागुनबाट खुल्ने भएका छन् । फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेपछि फिल्म हल खुल्ने भएका हुन् । हल खुल्ने भएपछि चलचित्र संघ त्यसको तयारीमा जुटेको छ । फिल्म हल १ फागुनमै खुलेपनि दर्शकले नयाँ फिल्म हेर्न भने केही साता अझै पर्खनुपर्नेछ । किनभने १ फागुनबाट केही साता पुरानै फिल्म लाग्ने भएको छ ।
चलचित्र संघका महासचिव अशोक शर्माले १ फागुनमा फिल्म हल खुलेपनि सुरुमा पुरानो फिल्म रिलिज हुने बताए । ‘रिलिज भएको केही दिनमै हल बन्द हुँदा मारमा परेका केही फिल्म छन्’ शर्माले भने ‘हल खुल्ने बित्तिकै पहिले ति फिल्म लाग्नेछ । त्यसपछि अन्य नयाँ रिलिज हुन्छ ।’ सुरुको केही साता पुरानो फिल्म लाग्दा कोरोनाले मारमा परेको फिल्मलाई राहत मिल्ने शर्माले सुनाए ।
कोरोनाको तेस्रो लहरमा फिल्म हल बन्द हुँदाको समय स्पाइडरम्यान, पुष्पा, कठ्पुतली, चपली हाइट ३ लगायत प्रदर्शनमा थिए । हल खुलेपछि सुरुमा यी नै फिल्म रिलिज हुनेछ ।