सप्तरी – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको दुई दर्जन नेता/कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रवीकिरण) सहित जिल्ला सेक्रेटर, सह–सेक्रेटरीलगायतका दुई दर्जनभन्दा बढी नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गराउँदै प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरू एकजुट हुन आवश्यक भएको उनको भनाइ थियो ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्, ’ प्रचण्डले भने, ‘हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’ उनले अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिँदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरू एक ठाउँमा केन्द्रित हुँदै गएको पनि बताए ।
‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन,’ प्रचण्डले भने । प्रवेश गर्नेहरूका तर्फबाट रवीकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताए ।