सप्तरी – नेपाली कांग्रेसले बिहीबार दमौलीमा विरोध प्रदर्शन गर्दैछ । बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउ तथा नेता कार्यकर्तामाथिको पक्राउ र कुटपिट प्रकरणको विरोधस्वरुप बुधबार घोषित कार्यक्रम अनुसार विरोध गर्न लागिएको हो ।
कार्यक्रममा पौडेलसहित जिल्लाका तीनजना केन्द्रीय सदस्यको सहभागिता रहने पार्टीले जनाएको छ । एकै फोरममा सहभागी हुने दुर्लभ अवसर यस घटनाले जुराएको छ । केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा प्रदीप पौडेल तीनै जना कार्यक्रममा सहभागी हुन दमौली आइसकेका छन् । यसैगरी संविधान सभा सदस्यहरु ध्रुव वाग्ले, रामचन्द्र पोखरेल, झुलबहादुर आलेसहित पनि कार्यक्रममा सहभागी हुनेछन् । दमौलीबाट विरोध र्यालीपछि बुधबार तय भएर रोकिएको व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनमा सहभागी हुने तयारी गरिएको छ । प्रशासनले बिहीबारका लागि निषेधाज्ञाको कार्यक्रम नरहेको बताएको छ । यसले सम्भावित झडप कम हुने ठानिएको छ । ‘हिजो कार्यक्रम रोक्न पत्र आएको थियो,’ प्रजिअ सागर आचार्यले भने, ‘आज हामीलाई कुनै त्यस्तो जानकारी छैन ।’झडपको जोखिम नदेखिएमा आफूहरुलाई समस्या नहुने शंकेत प्रशासनको छ । सहायक प्रजिअ चित्रांगद बरालले भने, ‘हाम्रो काम सुरक्षा दिने हो । झडप हुने नदेखिएमा थप केही हुँदैन ।’
नेकपाको भ्रातृ संस्था युवा संघले पनि कुनै कार्यक्रम नराखेको एक नेता बादल आलेले बताए । बुधबार तनावपूर्ण अवस्था देखिए पनि बिहीबार सम्भावित अवस्थासँग जुध्न जनपद र सशस्त्र प्रहरीको परिचालन भने बाक्लै गरिएको छ ।