सप्तरी – सहकारीका लेखापाल धनपालथान–४ का ६० वर्षीय सविलाल राजवंशी र सहलेखापाल धनपालथान–६ का ५५ वर्षीय राजकुमार राजवंशीले रकम घोटाला गरेको पाइएको हो। सहकारीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ। दुवै जनाविरुद्ध सहकारी ठगी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
२०३५ सालदेखि सञ्चालित पाँच सय १० जना शेयर सदस्य रहेको सहकारीका अध्यक्ष गुलावचन मण्डल हुन्। मण्डल धनपालथान–३ का वडाध्यक्ष पनि हुन्। लेखा परीक्षण प्रतिवेदनले सरकारीको ठूलो रकम भ्रष्टाचार भएको देखाएको सहकारी सञ्चालक समितिका उपाध्यक्ष सर्वेलाल राजवंशीले बताए। उनका अनुसार लेखा परीक्षण प्रतिवेदनले अनियमितता पुष्टि गरेपछि सहकारीका तर्फबाट पनि छानबिन समिति बनाइएको थियो।
धनपालथान–४ का वडाध्यक्ष रोशन राजवंशीको नेतृत्वको समितिले पनि रकम घोटाला भएको ठहर गरेको सर्वेलाल बताउँछन्। उनका अनुसार लेखापाल सविलालले एक करोड ११ लाख ६२ हजार र सह–लेखापाल राजकुमारले ७८ लाख १७ हजार चार सय २८ रूपैयाँ घोटाला गरेको खुलेको छ।
‘सहकारीमा केही समयअघिदेखि नै रकम घोटालाको आशंका गरिएको थियो। लेखा परीक्षण प्रतिवेदन र छानबिनबाट पनि अनियमितताको पुष्टि भयो,’ उपाध्यक्ष सर्वेलालले भने, ‘त्यसपछि दुवै जनालाई बारम्बार रकम जम्मा गर्न आग्रह गर्दा पनि नमानेपछि प्रहरीमा जाहेरी दियौँ। बचकर्ता र शेयर सदस्यको ठूलो रकम हिनामिना भएपछि हामी पनि तनावमा छौँ।’
सहकारीका जिल्ला प्रतिनिधि बासु रायका अनुसार सरकारीका नाममा मिलसमेत सञ्चालनमा थियो। सहकारीले सनपाटको खरिदबिक्री र बालुवा तथा गिट्टी ढुवानीको काम पनि गर्ने गरेको थियो। मिलका लागि धान तथा गहुँ खरिद, बालुवा र गिट्टी ढुवानी तथा सनपाट खरिद एवं बिक्रीका क्रममा हिनामिना गरेको पाइएको बासुले बताए। साथै बचतकर्ताको रकमसमेत आफूखुसी चलाएर फिर्ता नगरेको उनको भनाइ छ।
कोरोना महामारीका कारण सहकारी दुई वर्षदेखि बन्द छ। त्यहाँमाथि रकम घोटालाको विषय आएपछि तत्काललाई सञ्चालन गर्न नसकिएको जानकारी बासुले दिए। उनका अनुसार रकम घोटालाको विषय बाहिरिएपछि लेखापाल सविलालले राजीनामा दिएका थिए। तर उनको राजीनामा स्वीकृत भइसकेको छैन। उनी आफै सहकारीका शेयर सदस्य हुन्। तर दुई पटकसम्म साधारसभामा उपस्थित नभएको बासुले बताए।
‘रकम घोटाला गरेर लामो समयदेखि विवादरहित ढंगबाट सञ्चालनमा रहेको सहकारीको बदनाम गरियो,’ उनले भने, ‘बचतकर्ताको रकम विस्तारै तिर्दै जाने योजना बनाएका छौँ।’ उनका अनुसार सरकारीको नाममा धनपालनाथान–२ मा दुई कट्ठा दुई धुर, धनपालथान–६ मा चार कट्ठा र धनपालथान–४ मा १२ कट्ठाजति जग्गा छ। अर्को विकल्प नभएका कारण जग्गा बिक्री गरेर भए पनि बचतकर्ताको रकम भने फिर्ता गरिने जानकारी बासुले दिए।