काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी नेपाल र अमेरिका दुई देशको सम्झौता नभएकाले संसदबाट पास गरिनु असंवैधानिक हुने बताएका छन्।
शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता खनालले यो करार सम्झौतामात्रै भएकाले संसदबाट पास गर्नु नै गलत हुने स्पष्ट पारे।
‘एमसीसी भियना कन्भेसनअनुसार नेपाल र अमेरिका दुई देशबीचको सम्झौता होइन। यो करार सम्झौतामात्रै हो’, उनले भने, ‘यस्ता करार सम्झौतालाई दुनियाँका कुनै पनि संसदमा लगेर अनुमोदन गरिँदैन। नेपालको संसदले पनि गर्न हुँदैन।’
एमसीसी संसदबाट पारित गरिए यसले गलत नजिर बस्नेसमेत उनले दावी गरे। जसले नेपालका अन्तर्राष्ट्रिय सम्बन्धहरु भोलि पनि प्रभावित भइरहने नेता खनालको जिकिर थियो।
उनले एमसीसीमा गम्भीरभन्दा गम्भीरत्तम आपत्तिका कुरा रहेकाले यसले राष्ट्रलाई घात गर्ने बताए। ‘यी कुरा नसच्चिएसम्म, संशोधन नगरिएसम्म हामी एमसीसी पास गर्न दिँदैनौं’, पूर्वप्रधानमन्त्री खनालले भने, ‘संसदबाट कुनै पनि सन्धि–सम्झौता पारित गर्नुपर्यो भने संविधानको धारा २७९ मा टेकर संघीय ऐन ल्याउनुपर्छ तर अहिले कुनै संघीय ऐन बनेको छैन। २०४७ को एकात्मक राज्य व्यवस्थाअनुसार ऐनअनुसार यसलाई संसदबाट अनुमोदन गर्न खोजिँदैछ, यो असंवैधानिक छ, गलत छ।’
संघीय ऐन नबनी एमसीसी संसदबाट पारित हुनै नसक्ने उनले बताए। उनले पहिले संसद सुचारु हुनुपर्नेमा जोड दिए। ‘संसद सुचारु भएर पनि एमसीसी टेबुल भएपछि सबै सांसदहरुले यसमाथि बहस गर्न पाउनुप¥यो। म आफै एमसीसीमा ५ घन्टा बहस गर्न चाहन्छु’, खनालले भने, ‘सबैलाई यो अधिकार छ। यो ध्वनि मतका आधारमा पारित गर्न पाइँदैन। मत विभाजनमार्फत यो पास गरिनुपर्छ। यी सबै प्रक्रिया पूरा गर्न खोई नियमावली? कानुनी राजमा बल प्रयोग गर्न पाइन्छ? पाइँदैन।’