०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १०, २०७८

लुम्बिनी – भारतीय मालवाहक ट्रकले गत पुस ३० मा सिद्धार्थनगर बुद्धचोकमा ठक्कर दिँदा मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भयो । चोकमा जडान गरिएको ट्राफिक बत्तीको नियमबारे जानकारी नहुँदा मोटरसाइकल दुर्घटनामा परेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

गत माघ १ मा बुटवल–११ मगरघाटमा मोटरसाइकल दुर्घटनामा गुल्मीका कलाकार शोभाकर पन्थको मृत्यु भयो । विद्युत् विस्तारका क्रममा खनेको खाल्डोमा राति मोटरसाइकल खसेको थियो । स्थानीयले भोलिपल्ट बिहान पन्थलाई खाल्डोमा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । माघ २३ को बिहान पूर्व–पश्चिम राजमार्गको तिनाउ पुलमा स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँचीको सन्धिखर्क–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भयो । राति हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्यो । विवाहको मौसम चलेका बेला गत माघ २४ को बिहानै बुटवल–१२ तामनगरमा रोकिराखेको ट्रकमा ठोकिएर कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय रूपन्देहीमा सडक दुर्घटनासँगै मृत्यु हुने क्रम बढ्दो छ । सवारी अनुशासनको पर्याप्त पालना नगरिनु, सडक संरचनाको सही व्यवस्थापन हुन नसक्नु, चालकको लापरबाही, तीव्र गतिजस्ता मुख्य कारणले गर्दा रूपन्देहीमा सवारी दुर्घटना बढेको पाइएको हो । प्रहरीका अनुसार यहाँ सवारी चाप बढ्दा दुर्घटनामा परी दैनिक दुई जनाको ज्यान जाने गरेको छ । सडकमा हुने विभिन्न खालका लापरबाहीले नै दुर्घटना निम्तिने सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले बताए । ‘हामी एकातिर छौं, काम अर्कोतिर छ,’ उनले भने, ट्राफिक प्रहरीले नियम कार्यान्वयन गराउने हो, पढाउँदै हिंड्ने होइन ।’ सडकका विषयबारे पाठ्यक्रममै समावेश गरेर पढाउनुपर्नेतिर पहल गर्न सकिने भएकाले ट्राफिक प्रहरीले पढाएर हिंड्दा दुर्घटना कम भने नहुने उनले जनाए । जनचेतना जगाउने निकाय फरक भएको भन्दै उनले सरकारले सवारी साधनबाट हुने दुर्घटनाप्रति त्यति चासो नदिएको बताए ।

सडक दुर्घटना हुनुमा चालकको मात्रै दोष देख्नु गलत भएको पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष जीवन बन्जाडेले बताए । सडकको दुर्दशाले सवारी गुड्न नसक्ने स्थितिमा साना सवारी साधनका चालक आफैं ठूला साधनमा आई ठक्कर खाँदासमेत घटना हुने गरेको उनले जनाए । ‘ट्राफिक संकेतको चेतनामा कमी पनि दुर्घटनाको एक कारण हो,’ उनले भने, ‘सडकमा भएका संकेत मेटिएर नदेखिंदा पैदल यात्रु र अन्य सडक प्रयोगकर्ता झुक्किने गरेका छन् ।’

दुर्घटना हुनुमा तीव्र गति नै मुख्य रहेको सडक डिभिजन कार्यालय रूपन्देहीका प्रमुख जयलाल मरासिनीले बताए । राम्रो सडक संरचना बनाउँदासमेत आफैं लगेर सडक बारमा ठोक्किने, पल्टिने गरेका घटना धेरै भएको उनले बताए । ‘सडक बनाउने क्रममा प्राविधिक र इन्जिनियरको कमी–कमजोरी कहींकतै भएको हुन सक्छ,’ उनले भने, ‘हामी कमजोरी सुधार्नेतर्फ सचेत छौं ।’

राजमार्गमा सञ्चालन हुने सवारी साधनले ट्राफिक नियमको पालना नगर्ने, तीव्र गति, छाडा छाडिएका पशु चौपायालगायत कारणले सवारी दुर्घटना बढ्दो देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । यस्तै, ओभरटेक गर्ने, प्रतिकूल मौसम, पैदल यात्री र यात्रुको लापरबाहीका कारण पनि सवारी दुर्घटना बढेको देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विगतका वर्षमा मादक पदार्थ सेवन गरी सवारी दुर्घटना हुने गरेको भए पनि यस वर्ष मापसेका कारण दुर्घटना नभएको ट्राफिक कार्यालयको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय, लुम्बिनी प्रदेश ट्राफिक कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा गरेको स्थलगत अध्ययनका क्रममा यस क्षेत्रका विभिन्न नौ स्थानमा सडक इन्जिनियरिङ गलत भएका कारण दुर्घटना भएको पाइएको छ । यहाँको नयाँमिल, सीता राइस मिल, जानकी नगर, क्रिमसन अस्पतालअगाडि, ड्रिमल्यान्ड चोक, सखवानी चोक, पत्थरडाँडा चोकलगायत स्थान बढी दुर्घटनाग्रस्त क्षेत्र हुन् । यी स्थानमा साइड–वे खोल्दा बिनायोजना र सुरक्षाका मापदण्ड पालना नगरिएको पाइएको हो । बुटवलको नयाँमिलदेखि तिलोत्तमा नगरपालिकाको ठुटीपीपलसम्म सडक विस्तार तथा फराकिलो बनाउँदा सुरक्षाका सामान्य मापदण्ड पनि पालना नगरिएको तथा सव–वे बनाउँदा आवश्यक मापदण्ड पालना नगरिएको लगायत कारणले दुर्घटना भएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस आर्थिक वर्षको सुरुवातदेखि हालसम्म रूपन्देहीमा १ सय ३४ सवारी दुर्घटनामा परेका छन् । जसमा सबैभन्दा धेरै ७८ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । यस क्रममा ५४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख केशव केसीले बताए । उनका अनुसार तीमध्ये पुरुष ३६, महिला १४, बालक २ र बालिका एक जना छन् । दुर्घटनाबाट गम्भीर घाइते भएकाहरूको संख्या ६९ छ भने सामान्य घाइते हुनेहरू २६ जना छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]