काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पिसिआर परीक्षण नि:शुल्क गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको आग्रहमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै नि:शुल्क पिसिआर परीक्षणको व्यवस्था गरेको हो। यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो।
अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पिसिआर परीक्षण नि:शुल्क हुनेछ।
पिसिआर परीक्षण नि:शुल्क गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेस गर्नुपर्नेछ। यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरूद्धको खोपको व्यवस्थापन गरेको थियो।