विराटनगर – परैबाट एकैनासले लहरै घर निर्माण गरिएका छन् । टिनले छाएको छ । पक्की ढलान गरेरै सिकुवा बनाइएको छ । एक समान र उही आकारका घरको वस्ती व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको प्रबन्ध ।
सामुहिक वस्ती विकासको गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएको यो संरचनामा ३२ परिवारले आश्रय पाएका छन् । बसोबास गर्ने सबै अल्पसंख्यक मुसहर (ऋषिदेव) समुदायका मानिस छन् ।
‘महानगर आवास’ योजनाअन्तर्गत विपन्न मुसहर समुदायको लागि यो वस्ती नमार्ण भएको हो । स्थानीयका अनुसार नयाँ घरमा सरेकापछि अब सिंघियाको बाढीले उठिबास लगाउने हो कि भन्ने रत्तिभर पीर छैन । “नयाँ बस्तीमा सरेपछि त चैनका निन्द्रा पर्न थालेको छ,” कविता ऋषिदेवले भनिन्, “छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पिर पनि हटेको छ ।” निर्माण भएका घरमा दुई कोठा, एक भान्छा र शौचालय छन् ।
लालसे ऋषिदेवलाई खोला किनारको झुप्रोबाट कहिल्यै पार नपाइएला कि भन्ने चिन्ता थियो । सिंघियाको बाढीले घर बगाएपछि उनी निक्कै लामो समय दाताले दिएको पालमुनि ओत्तिएका थिए । “तर हाम्रो दिन फिरेर आए अहिले त पक्की घरमा बस्न पाइएको छ,” उनले भने,“हामी जस्ता धेरै गरिबसँग अहिले आफ्नो भन्ने घर पनि छ ।” बुढेसकालमै भए पनि विराटनगर महानगरपालिकाले निर्माण गरिदिएको घरले उनलाई सन्तोक मिलेको छ ।
कविता र लालसे जस्तै मुनिश्री ऋषिदेवका दिन पनि फिरेका छन् । श्रीमान र उनी दैनिक ज्यालादारीमा श्रम गर्छन । दैनिक हुने कमाइले परिवार चलेको छ । छोराछोरीलाई पनि नजिकैको आधारभुत विद्यालयमा पढाउन सजिलो भएको छ । मुनिश्री भन्छिन्,“हाम्रो बस्ती नै नयाँ ठाउँमा सरेको छ । अब घर छैन भन्ने चिन्ता हामीलाई छैन ।”
केही अघिसम्म झुप्रोमा बस्नेहरुले अहिले आफ्नै घर प्राप्त गरेका छन् । तर, यो सबै विराटनगर महानगरपालिकाको पहलमा सम्भव भएको महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहालको भनाइ छ । “घर नभएका विपन्न परिवारलाई लक्षित गरी ३२ घर निर्माण गरिएको छ । यसबाट सिमान्तकृत समुदायलाई सामुदायिक बस्तीको अवधारणाअनुसार बसाल्न सकिएको छ,” दाहालले सुनाए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बाढीबाट हरेक वर्ष डुबानमा पर्ने विपन्नका बस्तीलाई सुरक्षित स्थानमा सार्ने उद्देश्यले आवास योजना अघि सारिएको बताए । उनले भने, “खोला किनारका बस्ती हरेक वर्ष डुबेर हुने क्षति र तिनको व्यवस्थापनमा हुने ठूलो खर्च घटाउने उद्देश्यसाथ वस्ती योजना अघि सारेका छौं । विराटनगर–१२ र अन्य वडाहरुमा पनि हामीले यस्तै योजना अघि बढाएका छौं ।”
एक बिगाह जग्गामा ३२ परिवारलाई हुनेगरी दुई कोठे पक्की घर बनाएर हस्तान्तरण गरिएको दाहालले सुनाए । बस्ती विकासमा महानगरपालिकासँग हेबट्याट्स फर ह्युम्यानिटी, जीवन विकास र सहारा नेपालले साझेदारी गरेका हुन् । भवन निर्माणको सबै खर्च हेबट्याट्सले गरेको र महानगरले सडक तथा ढल निर्माणमा लगानी गरेको दाहालले सुनाए । निर्माण भएको संरचनामा एउटा भान्सा, दुईवटा कोठा र शौचालय भएको घर छन् । दाहालका अनुसार अब बस्तिमा सामुदायिक भवन र खानेपानीको नयाँ परियोजना शुरु गर्ने योजना छ ।