सप्तरी – लुम्बिनी प्रदेशमा राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि चुनावी अभियान सुरु गरेका छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन दलहरूले गाउँ केन्द्रित चुनावी अभियान सुरु गरेका हुन् । मुलुकमा संघीयता लागू भइसकेपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मत आफ्नो पक्षमा पार्न दलहरूले गाउँ–गाउँमा पुगेर बैठक, भेला, सभा तथा छलफल कार्यक्रम थालेका छन् ।
मतदाता रिझाउन नेता–कार्यकर्ताहरू महत्त्वाकांक्षी योजनासहित स्थानीय स्तरमा खटिसकेका छन् । नेपाली कांग्रेस रूपन्देहीले जिल्लाका १ सय ५५ वटै वडाका हरेक टोलमा पुगेर टोल कार्यसमिति गठन गर्न कार्यकर्ताहरू परिचालन गरिसकेको छ । केन्द्रीय स्तरका प्रतिनिधि उदयशमशेर राणा रूपन्देही आउने र जिल्लाका गतिविधिमा संलग्न भई पार्टीको कार्यबारे प्रस्ट्याउन सक्रिय रहने जिल्ला सभापति रामकृष्ण खाँणले बताए । उनका अनुसार जिल्ला कार्यसमितिले हाल तल्लो तहसम्मै कांग्रेस चिनाउने र हरेक वडामा जनतामाझ प्रिय रहेका कांग्रेस नेता पत्ता लगाउने काम गरिरहेको छ । प्रत्येक वडामा सम्पर्क कार्यालय स्थापना हुने र यही फागुन २९ गतेबाट ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सुरु गरिनेसमेत खाँणले जानकारी दिए ।
नेकपा एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पार्टीका जिल्ला जनसंगठनहरूको अधिवेशन भइरहेको बताए । प्रत्येक पालिकामा बैठक सञ्चालन गरी चुनावी कार्यबारे जानकारीमूलक कार्यक्रमसमेत गरिरहेको केसीले बताए । ‘हामीले चुनाव जितेका पालिकामा घोषणापत्र अनुसारका काम भए/नभएको समीक्षा पनि गरिरहेका छौं,’ उनले भने, ‘योसँगै अर्को चुनावका लागि कस्ता काम बाँकी रहन्छन् भन्ने प्रस्ट भएर अघि बढ्न सकिन्छ ।’ केसीले पार्टी प्रवेश गराउने अभियानसमेत चलेको जानकारी दिए ।
जनता समाजवादी पार्टीका रूपन्देही अध्यक्ष रामअवतार यादवले प्रत्येक वडामा पुगेर संगठन शुद्धीकरण गरी नेता कार्यकर्तालाई क्रियाशील बनाउने काम भइरहेको जनाए । ‘पार्टीमा आस्था राख्नेहरूबाटै प्रतिनिधि चुन्नेछौं,’ उनले भने, ‘गाउँपालिकाबाट सिफारिस भएको नेता जिल्ला हुँदै प्रदेशको निर्णयबाट उम्मेदवार चयन हुनेछ ।’ नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनको तयारी स्वरूप आगामी सोमबार जिल्ला सचिवालय बैठक आह्वान गरेको छ । बैठकबाट निर्णय गरी तीव्र गतिमा कार्यकर्ता परिचालन थाल्ने एकीकृत समाजवादी रूपन्देहीका जिल्ला सचिव अविराम विकले बताए । पालिकास्तरीय समिति र कार्यालय गठनको काम पनि जारी राखेको विकले जानकारी दिए । पार्टीको संरचना नयाँ भएकाले त्यसबारे समेत जनतालाई बताउने र स्थानीय स्तरका अन्य दलसँग तालमेल गर्न मिल्ने अवस्थामा त्यसरी नै अघि बढ्ने पार्टीको रणनीति रहेको उनले बताए ।
राष्ट्रिय जनमोर्चाले जिल्ला भेला सम्पन्न गरेको छ । भेलाबाट परिचालन समितिहरू गठन भएको राष्ट्रिय जनमोर्चा रूपन्देहीका अध्यक्ष बद्रे आलमले बताए । उनका अनुसार राजमोले चुनावी प्रचारप्रसारका लागि हरेक पालिकामा कार्यकर्ता खटाउने र अन्य राजनीतिक दलका झूटा र गलत कामबारे जनतालाई सचेत गराउने अभियान सञ्चालन हुनेछ । जनमत पार्टी पनि निर्वाचन लक्षित अभियानमा अघि बढेको छ । उसले चुनाव चिह्न पाउनुपर्ने विषय र किसानका माग पूरा हुनुपर्ने माग सम्बोधनका लागि जिल्ला तहकै निर्वाचन कार्यालयमा आन्दोलन गरेको जिल्ला अध्यक्ष रामविष्णु सिंह लोधले बताए । उनले पार्टीको रूपन्देहीका १३ पालिकामा टोल कार्यसमिति बनाई कार्यकर्तालाई प्रचारप्रसारमा खटाएको समेत जनाए ।
उम्मेदवार भन्दै प्रचार
कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षको भावी उम्मेदवार भन्दै नेकपा एकीकृत समाजवादीबाट क्रिकेटर फैजल खानले ठाउँठाउँमा पोस्टर झुण्ड्याएका छन् । उनी जस्तै कपिलवस्तु नगरपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादीबाट घनश्याम पाठकले भावी उम्मेदवार भन्दै व्यानर टाँगेका छन् । कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्रबाट शत्रुघ्न चौधरीले भावी उम्मेदवार भन्दै पोस्टर र फेसबुक प्रचार थालेका छन् । एउटा पार्टीबाट वडादेखि गाउँपालिका र नगरपालिकामा दुई/तीन जनाले भावी उम्मेदवार भन्दै प्रचार सामग्री राखेका छन् । फ्ल्यास बोर्ड छाप्ने पसल अहिले नेता–कार्यकर्ताकै पोस्टर व्यानरले भरिएको छ । यसले अहिले गाउँगाउँमा आकांक्षीहरू बढेको संकेत गरेको छ ।
आकांक्षीहरूले जिल्ला पार्टी नेतृत्वसँग आफूलाई टिकट दिन भन्दै लबिइङ थालेका छन् । उनीहरूले नयाँ वर्ष र होलीलाई सन्दर्भ पारेर चुनावी शुभकामना कार्ड र पात्रो छापेर बाँड्न थालेका छन् । सुविधासहितको अधिकार स्थानीय तहमा हुने भएपछि यहाँका १० स्थानीय तहमा टिकटका आकांक्षी पदको तुलनामा ५ गुणा बढी रहेको कांग्रेस जिल्ला सभापति अब्दुल कलाम खाँले बताए । सानातिना नेता–कार्यकर्ताको महत्त्वाकांक्षा बढ्दा व्यवस्थापन गर्न गाह्रो भइरहेको उनले जनाए । एमाले नेता–कार्यकर्ता पंक्तिमा पनि चुनावी माहोल तातेको जिल्ला अध्यक्ष डम्बर शर्माले बताए । ‘हाम्रोलाई भन्दा राम्रोलाई’ टिकट दिने गरी अध्ययन थालिएको उनको भनाइ छ ।
रणनीति तयार पार्दै दलहरू
स्थानीय तहको चुनाव नजिकिएसँगै कांग्रेस फ्यूठानले टोल कमिटी गठनदेखि अन्तर्त्रिया र छलफल कार्यक्रम गरिरहेको छ । जिल्ला स्तरका नेताहरूकै सहभागितामा टोल कमिटी गठन गर्ने र कार्यकर्तालाई टोलटोलमा जुटाउने काम कांग्रेसले गरिरहेको हो । नौवटै स्थानीय तहमा एकैसाथ कार्यक्रम गरिरहेको कांग्रेस प्यूठानका उपसभापति देवेन्द्र बर्माले बताए । ‘अब केही दिनमा सबै वडाको समिति गठनको काम सकिन्छ,’ उनले भने, ‘वडा समितिले पार्टीको अवस्था बुझ्न सजिलो बनाएको छ ।’
गाउँ पसेको बेला पार्टीको अवस्था मूल्यांकन गर्ने र त्यसै अनुसारको रणनीति बनाएर चुनावमा जाने तयारी भएको उनले बताए । केन्द्रमा जस्तै जिल्लामा पनि गठबन्धनको चर्चा गाउँ–गाउँमा भइरहेको छ । ‘स्थानीय तहको अवस्था र कार्यकर्ताको भावना अनुसार पार्टी अगाडि बढ्ने हो,’ उपसभापति बर्माले भने, ‘स्थानीय तहको अवस्थाले जिल्लाको अवस्था प्रस्ट पार्नेछ ।’ कांग्रेस प्यूठानको कार्यकर्ता भेटघाट र प्रशिक्षण कार्यक्रम केन्द्रीय सदइ डा. गोविन्दराज पोखरेल सक्रिय भएका छन् ।
एमाले पनि अहिले जिल्लाका स्थानीय तहहरूमा प्रशिक्षण कार्यक्रममा व्यस्त छ । पालिका स्तरीय विस्तारित बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिरहेको छ । एमालेको प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा आफैं सहभागी छन् । विभिन्न स्थानीय तहमा भइरहेका कार्यक्रममा थापाले प्रशिक्षण दिंदै हिंडेका छन् । केन्द्र र जिल्लाको निर्देशनअनुसार टोल कमिटी निर्माण गर्ने र सबै किसिमका संगठनलाई चुस्त बनाउने काम पनि एमालेले गरिरहेको छ । आफूहरूको अभियान चुनाव केन्द्रित भएको एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले बताए । ‘पार्टीको प्रचार प्रसारसँगै कार्यकर्तालाई एकताबद्ध गर्ने गरी कामहरू भइरहेको छ,’ उनले भने, ‘गठबन्धनविरुद्धको अभियानमा हामी छौं ।’ अन्य राजनीतिक दलहरू नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि गाउँमा उपस्थिति बढाएका छन् ।