एजेन्सी – चीनमा चालक दलका सदस्य सहित १३२ जना सवार जहाज दुर्घटना भएको छ।
सोमबार चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटना भएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सको अनलाइन संस्करणमा उल्लेख गरिएको छ। चीनको गोङ्सी जोन्जु प्रान्तमा जहाज दुर्घटना भएको हो।
उडान भरेको केही समयमै सम्पर्क विच्छेद भएको जहाज पहाडमा ठोक्किएको चिनियाँ नागरिक उड्डयन प्रशासन (सीएएसी) ले जनाएको छ। पहाडमा जहाज ठोक्किएपछि धुँवाको मुस्लो आएको जनाइएको छ।
दुर्घटनाग्रस्त जहाजको क्षतिको विवरण आएको छैन। आपत्कालीन उद्धार टोली खटिएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ।
यो जहाजमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य थिए। १६२ सीटे जहाजमा १२ बिजनेस क्लासका र १५० इकनोमी क्लासका सीट रहेका थिए।
चीनमा १२ वर्षपछि ठूलो जहाज दुर्घटना भएको हो। यसअघि सन् २०१० मा इचुन शहरमा भएको जहाज दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो।