जनकपुरधाम – स्थानीय तहको चुनावको समय नजिकिँदै जाँदा मधेश प्रदेशमा चुनावको तयारी तीव्र भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीदेखि लिएर सिके राउत नेतृत्वको जनमत पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीहरु चुनावको आन्तरिक तयारीमा जुटेका छन् । चुनावलाई नै लक्षित गरी हरेक पार्टीका शीर्ष नेताहरु यतिबेला देश दौडाहामा छन् । यस क्रममा मधेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका शीर्ष नेताहरु अहिले बढी मधेश केन्द्रित देखिएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव दुई दिनदेखि मधेश प्रदेशमा रहेका छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुरदेखि वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा सोमबार नै जनकपुर आइपुगेका छन् । त्यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि मंगलवार एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउन लागेको पार्टी स्रोतले जनाएको छ ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनकालागि दलहरुले अहिलेदेखि आन्तरिक रुपमा उम्मेदवार चयनमा लागेका छन् भने कार्यकर्ता तथा जिल्लाका नेताहरु टिकटका लागि शीर्ष नेताहरु कहाँ प्रयास गरिरहेको देखिएको छ । जनकपुरधाम उपमहननगरपालिकामा लोसपा भित्रै मेयर उपमेयरका धेरै आकाँक्षी देखिएकाले अहिले देखि नै सो पार्टीका शीर्ष नेताहरु जनकपुरधाम स्थित आवासमा जाने गरेका छन् । लोसपमा प्रदेश सांसद परमेश्र साह, मनोज चौधरी, जानकी राम लगायतका मेयरका आकांक्षी देखिएकाले पार्टीका शीर्ष नेताहरुलाई जनकपुरधाम उपमहानगरपालिका टाउको दुखाई बनेको छ । राजेन्द्र महतोका प्रतिनिधि सभाको निर्वाचन क्षेत्र रहेको र आउने प्रतिनिधि सभाको निर्वाचनमा पनि जनकपुरधामबाटै चुनाव लडने मनसाय बनाएका महतोले आकाँक्षी उम्मेदवारलाई मिलाउन नसकेको खण्डमा समस्या हुने अवस्थालाई मध्य नजर गर्दै उनीहरु अहिले देखि नै सक्रिय भएका छन् । स्रोतका अनुसार महतोलाई आगामी निर्वाचनमा सफल हुन नदिन अहिलेदेखि नै शीर्ष नेताहरुले जनकपुरधामलाई बढी प्राथमिकता दिएका छन् ।
यता, जसपाका अध्यक्ष यादवले पनि मधेश प्रदेशका सबै जिल्लामा चुनावको तयारीमा लाग्न नेता तथा कार्यकतालाई निर्देशन दिइसकेका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीका स्थानीय कमिटीले टिकट वितरण गर्ने निर्णय गरे पनि अध्यक्ष यादवले नेता तथा कार्यकर्ता भित्र रहेका असंतुष्टिलाई साम्य पार्न सक्रिय देखिएका छन् । यता, जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग सहकार्य नगरी एक्लै चुनाव लड्ने घोषणा गरिसकेको छ भने तमलोपाले मधेश प्रदेशका सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने बताउंदै आएको छ ।