सप्तरी – लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मधुवनी स्थायी घर भएका ७० वर्षीय गरीब कोहारको जग्गा नक्कली कागजात बनाएर बिक्री गर्न सहयोग गरेका जनप्रतिनिधिलाई जिल्ला अदालतले सामान्य धरौटीमा छाडेको भन्दै स्थानीयले मंगलवार वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
पीडित ७० वर्षीय कोहार सहितको स्थानीयको समूहले वडा कार्यालयमा पुगेर तालाबन्दी गरेको हो ।
वडाध्यक्ष रमजान अली मियाँले नक्कली कागजपत्र बनाई बिक्री गर्न महत्त्वपूर्ण सहयोग गर्दा पनि अदालतले सामान्य ३ लाख घरौटीमा छाडिदिएपछि आक्रोशित स्थानीयले १० नम्बर वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका छन् ।
नक्कली कागजपत्र बनाउन मुख्य भूमिका रहेका वडाध्यक्ष लामो समय सम्पर्कमा नभए पनि केही दिनदेखि वडा कार्यालयमा बसी काम गरेको भन्दै गलत गर्ने जनप्रतिनिधि खुलमखुल्ला घुमिरहँदा पनि प्रहरी प्रशासन मौन बसेको पीडित पक्षको आरोप छ ।
आफ्नो जग्गा धितो राखेर ऋण लिन ४ किल्ला सिफारिसका लागि वडा कार्यालय पुग्दा आफूलाई वडाध्यक्ष रमजान अलि मियाँले सिफारिस दिन नमानेको कोहारले बताए ।
‘म सक्कली मान्छे जाँदा ४ किल्ला पाइनँ, अरुलाई बनाएर दिए, मलाई न्याय चाहियो,’ वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका कोहारले भने ।