सप्तरी – कट फ्लावर भनेका यस्ता फूलहरू हुन्, जसलाई उसको माउ बोटबाट काटिन्छ । यी फूलहरूको डाँठ लामो हुने गर्दछ र यिनीहरूलाई पानीमा डुबाई लामो समयसम्म नओईलाइकन राख्न सकिन्छ । पुष्प खेतीको प्रवद्र्धनमा कट फ्लावरको भूमिका महत्वपूर्ण रहन्छ ।
पुष्प व्यवसायको विविध क्षेत्रहरूमध्ये कट् फ्लावर एक प्रमुख उत्पादन हो । विगत ६ बर्षदेखि पुष्प व्यवसाय गर्दै आएका एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्मका रामेश्वर बासी २०७२ सालको भूकम्पछि नेपालमा फूलको माग बढेको बताउँछन् । मानिसहरूले बनाउने नयाँ घर अगाडि वा कौशीमा बगैचा बनाउने, फूल रोप्ने, गमलाहरू राख्ने गरेकाले पछिल्लो समय माग बढेको उनको भनाई छ ।
यस बाहेक विवाह, ब्रतबन्ध, पुजाआजा जस्ता कार्यमा पनि फूलको प्रयोग हुने भएकोले माग उच्च रहेको छ । उनका अनुसार नेपालमा करिब ३० बर्षअघि देखि नै व्यवसायिक रूपमा कट् फ्लावरअन्तर्गत पर्ने फूलको खेती फूलहरूको खेती भएको पाइन्छ ।
बिउ र बेर्नामा परनिर्भर
सम्भावना प्रशस्त भएको पुष्प खेतीमा हालसम्म पनि बिउ र बेर्नाका लागि नेपाल परनिर्भर हुँदै आएको छ । नेपालमा वर्षभरी उत्पादन हुने, मौसमी र बेमौसमी कट् फ्लावरको उपलब्धतालाई बढाउन कट् फ्लावरको आयात÷निर्यात तथ्याङ्कहरूको आधारमा पनि यसको महत्व धेरै छ भन्ने कुरा पुष्टि हुन्छ ।
कट् फ्लावरको बेमौसमी माग पूरा गर्न विभिन्न देशहरूबाट आयात गर्ने गरिएको पाइएको छ । अधिक मात्रामा ताजा पुष्प उत्पादन हुने र बजारीकरणको पनि राम्रो वातावरण हुने समय फागुनदेखि असार महिनामा यसको व्यवसायिक कारोबार भने कम हुने गरेको व्यवसायी बासी बताउँछन् । पुष्प खेतीमा सम्भावना प्रशस्त भएपनि यसमा अध्ययन अनुसन्धान हुन नसकेको र विज्ञ नभएको उनले गुनासो गरे ।
नेपालमा लगाइने अधिकांश फूलका बिउ तथा बेर्ना आयातित हुन् । फूलका बिरुवाहरू टिष्युकल्चर प्रविधिबाट उत्पादन गर्नुपर्दछ तर नेपालमा त्यो प्रविधि सञ्चालनमा आएको उनलाई थाहा छैन ।
कार्नेसन, जरबेरा, लिली गोदाबरी, सयपत्री, डालिमा, साल्बिया, सेल्सिया, पोख्कम, भिम्का, जेरिनियम, क्युसिया, इन्फेसन, सेन्जी, टेटोनिया, क्यालिन्डुला, एन्टिएनम, गान्थस, फल्क, रेनामेकल्क, प्राइमुला, अर्किड, ग्लाडिओलस, पाम, जर्बेरा, जिनिया जहारा, गुलाबलगायतको बिउ तथा बेर्ना भने आयात हुने उनले बताए । भारत, नेदरल्यान्ड, बेलायत, अमेरिका, केन्या, चीन, स्पेन, थाइल्यान्ड, इजराइल, फिनल्यान्ड, इटली, कोलम्बिया, टर्कीलगायतका मुलुकबाट बिउ तथा बेर्ना आयात हुन्छन् ।
नेपाल फ्लोरिकल्चर एशोसिएसनको तथ्याङ्क अनुसार २०१९÷२० मा नेपालमा ९.७५ हेक्टर जग्गामा ग्लाडुलस, ५.७५ हेक्टरमा गुलाब, कार्नेसन ८.५ हेक्टरमा, जर्बेरा ७.८५ हेक्टरमा र अर्किट १.२५ हेक्टरमा लगाइएको छ । सो तथ्याङ्कअनुसार बजारमा दैनिक माग ग्लाडुलस ६ हजारदेखि ८ हजार, गुलाब ८ हजारदेखि १० हजार, जर्बेरा र कार्नेसन ८ हजारदेखि १२ हजार, ट्युब रोज ६ हजारदेखि ८ हजार र अर्किट एक हजारदेखि ३ हजारसम्म माग रहेको देखिएको छ ।
सन् २०१९/२० मा २६ करोड ८९ लाख ३१ हजार रुपैयाँ बराबरको फूल आयात भएको छ भने ५४ लाख ३४ हजार रुपैयाँको मात्रै निर्यात भएको देखिन्छ ।
गत आर्थिक बर्ष २०७७/७८ मा ३८ करोड ५३ लाख रुपैयाँ बराबरको फूल आयात भएको भन्सार विभागको तथ्याङ्क छ भने चालू आर्थिक बर्षको माघ महिनासम्म १५ करोड ७३ लाख रुपैयाँ बराबरको आयात भएको देखिएको छ । नेपालमा उत्पादन नभएको कारण बिउ तथा बिरुवा बाहिरबाट आयात गर्न बाध्य भएको व्यवसायीहरू बताउँछन् ।
व्यवसायी बासी भन्छन्, “बजार सानो भनेर निजी क्षेत्रले चासो दखाएका छैनन् र सरकारी तरवरबाट पनि पहल हुन सकेको छैन ।”
बेर्नाका लागि नेपाली व्यवसायीहरूले तीन महिनाअघि नै सम्बन्धित देशको कम्पनीमा पैसा पठाएर अर्डर गर्छन् । त्यहाँ बिउ तयार भएर आएपछि यहाँ फूल रोपिन्छ । यद्यपि, कट् फ्लावरअन्तर्गत पर्ने केही फूलका बिरुवा भने व्यवसायी आफैँले तयार गरेर लगाउँदै आएका छन् । रोज, स्टाफिस, स्टोफिला, कार्नेसन आदिलाई किसानआफैँले जरा निकालेर रोप्दै आएका छन् ।
कटिङ गरेर जरा उमार्न मंसिरदेखि पुसको अन्तिसम्म राम्रो हुने बासीको अनुभव छ । “त्यतिबेला तापक्रम घट्छ । प्लाष्टिकले छापेर न्यानो बनाएर बालुवामा राखेर बिरुवा तयार गर्न सकिन्छ ।”उनले भने
कट भेराइटि र पट भेराइटी
कट् फ्लावरको सिजन बाह्रै महिना हो । सजावटका लागि उपहारको लागि मानिसहरूले यसको प्रयोग गर्छन् । यसको भेराइटी दुईओटा छन् : कट् भेराइटि र पट् भेराइटि । कट भेराइटी जर्बेरा लामो–लामो डाँठ भएका हुन्छन् । करिब एक फिटको डाँठआएर फूल फुल्छ ।
यसमा रोज, कार्नेसन, जरबेरालगायतका धेरै किसिम छन् । विशेषगरी गमलामा जर्बेराको बिरुवा रोपेर गमलामै फुलाउन सकिने जातको जर्बेरालाई पट भेराइटी भनिन्छ । पट भेराइटीको जर्बेरा कट भेराइटी भन्दा होचो हुन्छ । होचो हुने भएकाले नै गमलामा ढकमक्क फुल्दा आकर्षक देखिन्छ । कट भेराइटिमा काटेर अन्त रोप्न सकिन्छ भने पट भेराइटिमा इन्डोर र सदाबहार प्लान्टको रूपमा प्रयोग गर्न सकिन्छ ।
व्यवसायिक फूल खेती कसरी गर्ने ?
व्यवसायिक फूल खेती गर्ने हो भने टनेलाभित्र रोप्नु राम्रो हुने व्यवसायी बासीको अनुभव छ । यद्यपि, टनेलाबाहिर पनि लगाउन सकिन्छ । रोपेको तीन महिनापछि अर्थात ८ देखि १० हप्तामा कट फ्लावरले निरन्तर उत्पादन दिन थाल्दछ । कार्नेसन, जरबेरा, रोजलगायतका फूल एक पटक रोपेपछि त्यसले दुई तीन बर्षसम्म उत्पादन दिने व्यवसायी बासीले बताए । उनीसँग भने पाँच बर्षअघि लगाएको बिरुवासमेत छ । फ्लोरिकल्चर एशोसिएसनका अनुसार नेपालमा आवश्यक कट् फ्लावरमध्ये ८० प्रतिशत नेपालमै उत्पादन हुन्छ ।
फूललाई रातीको तापक्रम १० र दिनमा ३२ भन्दा माथि जानुहुँदैन । चिसो मौसममा उत्पादन कम हुने भएकोले मंसिरदेखि माघ अन्तिमसम्म काठमाडौँमा फूल उत्पादन कम हुन्छ तर त्यो समयमा माग बढी हुन्छ । भेराइटीअनुसार यो लगाउने विधि पनि फरक रहेको छ । पानी धेरै भएको, डुब्ने ठाउँमा अलि हाइट बनाएर रोप्नुपर्छ ।
फूल रोप्दा मलिलो माटो छनोट गर्न सके उपयुक्त हुन्छ । पर्याप्त मात्रामा जमिनको व्यवस्था गरेर फूल रोप्न सकिन्छ । फूल उत्पादन गर्न चाहनेहरूले आफैंले बिउ बिजन राख्न पनि सक्छन् नर्सरीबाट पनि लिन सक्छन् । माटोमा मल मिसाएर रोप्न सकेमा फूल मौलाएर आउने गर्छ । फूल रोपेपछि त्यसको रेखदेख गर्नु जरुरी हुन्छ । उचित समयमा सिंचाई गर्ने, मल राख्ने, गोडमेल गर्ने, झार उखल्ने किरा फट्याङ्ग्राबाट जोगाउन निरन्तर हेरचाह गर्नुपर्दछ ।
नेपाली बजारमा रोज, लाहुरे, डालिया, गोदावरी, जर्बेरा, पटुनिया, हेज, कार्नेसन, ग्ल्याडिओलास, बगानबेली आदिजस्ता फूलहरूको बजार राम्रो रहेको व्यवसायीहरू बताउँछन् । त्यस्तै, चाडपर्वको समयमा पनि फूलको माग बढी हुन्छ ।
कटफ्लावर काट्ने समय र उत्पादन उपरान्तका कार्यहरु
दुईवटा माथिल्लो पात (बिन भिबा) राखी फूलको डाँठ विहान अथवा बेलुकीपख काटेर डाँठलाई पानीको भाडामा डुबाएर राख्नु पर्दछ ।
काट्दा पहिलो पुष्पिका (First floret) रंग देखिएको र स्थानीय बजारको लागि पहिलो पुष्पिका खुलेको हुनुपर्दछ । फूल, डाँठको आकार, रङ्ग, ब्यास र लम्बाई अनुसार यसलाई ग्रेडिङ् र प्याकेजिङका लागि Corrugated Fiber Board को प्रयोग गर्नु पर्दछ ।
फुल काटेको ६–८ हप्तापछि गाना तथा सेला खन्नको लागि तयार हुन्छ । खन्नुभन्दा २–३ हप्ता पूर्व नै सिंचाई बन्द गर्नु पर्दछ । खनेपछि ०.२५ बेनोमाईल (बेनलेट) को झोलमा आधा घण्टा उपचार गरी २–३ घण्टा छायाँमा सुकाएर शितभण्डारमा ४ड्ढ सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्दछ ।
रोगकिरा र यसको समाधान
फूल खेतीमा विभिन्न रोग किराले दुःख दिने गर्दछ । यस्तो समस्याबाट मुक्ति पाउनका लागि फूलको राम्रोसँग हेरचाह गर्ने तथा औषधि उपचार गर्ने गर्नुपर्दछ । व्यवसायी बासीका अनुसार अन्यभन्दा फूलको डाँठ कुहिने समस्या गम्भिर हुन्छ । उनले भने “नेपालमा अहिलेसम्म यसको विशेषज्ञ छैन । हामी व्यवसायी साथीहरू एक आपसमा छलफल गरेर यसको समाधान गर्दै आएका छौँ ।”
फ्युजारियम (ग्लाडीओली)
यो रोग लागेमा पात र पुष्प पत्र बाङ्गो, बोट कमजोर आदि हुन्छन् । यसको नियन्त्रणको लागि रोग अवरोधक जातको प्रयोग, पानीको उचित निकास साथै भण्डारण पूर्व र रोप्नु अघि गानाको उपचार बेभिस्टीन २–३ ग्राम प्रति के.जी. बिउको दरले गर्नु पर्दछ ।
बोट्रीटिस
यो रोग लागेमा पातमा खैरो थोप्लाको साथै पुष्प पत्रमा पानीले भिजेको जस्तो दाग देखिन्छ र पछि खैरो ढुसीमा परिवर्तन हुन्छ । यो रोग चिसो र ओसिलो मौसममा लाग्दछ । यसको नियन्त्रण गर्न सरसफाईमा विशेष ध्यान दिनुपर्छ । साथै, डाईथेन एम–४५, २–३ ग्राम प्रति लिटर पानीमा घोली हरेक १५ दिनको फरकमा छरेमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।
ओइलाउने तथा घाँटी कुहिने रोग
यो रोगमा पातको आकार सानो, पहेँलो र घाँटीको भागमा खैरो थोप्लाहरू देखिन्छन् । यसको नियन्त्रणको लागि रोप्नुभन्दा अघि र भण्डारण गर्नुभन्दा अघि बेनोमाईल २ ग्राम प्रति लिटर पानीमा घोली उपचार गर्नुपर्दछ । साथै एउटै जमिनमा लगातार २ वर्षभन्दा बढी खेती नगर्नु नै उपयुक्त हुन्छ ।
फट्याङ्ग्रा कीरा
ग्लाडियोलस बिरुवाको कोपिलामा यो कीराले नोक्सानी गर्ने भएकाले क्लोरपाइरिफोस कीटनाषक विषादी २ मि.लि. १ लिटर पानीमा राखी स्प्रे गरेमा नियन्त्रण हुन्छ ।
लाही
यसले बोटको रस चुसी बढ्न दिंदैन र मोसायक विषाणुको कारक बन्दछ्र । रोगर ०.१५ अथवा नुभान ०.१५ विषादीले यसलाई नियन्त्रण गर्दछ ।
फड्के कीरा
यो कीराले पनि बिरुवाको रस चुसी बढ्न दिदैन । नुभाकन ०.१५ विषादीले यसलाई नियन्त्रण गर्न सकिन्छ ।
निमाटोडहरू
यसले जरामा गाँठो पारेर आक्रमण गर्दछ । टेमिक ८–१० के.जी. प्रति हेक्टरका दरले प्रयोग गरेमा यसको नियन्त्रण हुन्छ । साथै बालीको बीचमा सयपत्री फूल लगाएर पनि नियन्त्रण गर्न सकिन्छ ।
बजार र चुनौति
ब्यवसायी बासीले ६ बर्षअघि एक लाख रुपैयाँ लगानीमा ५०० बिरुवाबाट फूल खेती शुरु गरे । हाल उनको करिब ७०/८० लाख पुगिसकेको छ । उनको बगैँचामा जरबेरा ६००० कार्नेसन ६००० रोज २००० र स्टोफिला २०० जति छ ।
उनले उत्पादित फूल होलसेलमा लैजान्छन् तर होलसेलबाट चित्त बुझ्दो दाम नपाएको उनको गुनासो छ । उनी भन्छन्, “फूल खेतीमा सम्भावना छ । आर्थिक आम्दानी प्रशस्त गर्न सकिन्छ । सरकारले सहयोग पनि गरिरहेको छ तर विचौलियाका हामीले समस्या भोग्नु परिरहेको छ । धेरै साथीहरूले फूल बेचेको पैसा नपाएको गुनासो गर्छन् ।”
त्यस्तै, नेपालमा हुँदाहुँदै विदेशबाट फूल आयात हुनु दुखद भएको उनी बताउँछन् । नेपालमा उत्पादन हुने समयमा आयात रोक्नुपर्ने उनको भनाई छ । पुष्प विकास केन्द्रमार्फत सरकारले व्वसायीहरूलाई सहयोग गर्दै आएको भए पनि इन्डियाबाट आउने फूलसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए । “बिउदेखि औषधिसम्म आयात गर्नुपर्ने भएकोले इन्डियाको तुलनामा नेपालमा लगानी बढी लाग्छ”उनले भने ।
कालीमाटी तरकारी बजारजस्तै फूलको लागि पनि बजार तोकिनुपर्ने उनको भनाई छ ।
नेपालमा पाइने स्थानीय तथा हाम्रो बन जङ्गलमा पाइने फूलहरूको अध्ययन अनुसन्धान भएको पाइदैन । पछिल्लो समय सयपत्रीको फूल कट् फ्लावरको रूपमा प्रयोग हुन थालेको छ । लालीगुराँसलाई पनि यसरी नै प्रयोगमा ल्याउन सकिने व्यवसाय बासीले बताए ।
प्लाष्टिकको फूलभन्दा प्राकृतिक फूल प्रयोग गर्नु मानव स्वास्थ्य र वातावरणका लागि पनि निकै लाभदायी मानिन्छ । त्यसमा पनि नेपाली रैथाने फूलहरूलाई उन्नत जातमा विकास गरी बजारीकरण गर्ने हो भने निर्यात पनि गर्न सकिन्छ । तर, नेपालमा फूलसम्बन्धी अध्ययन अनुसन्धान गर्ने विशेषज्ञ नभएको बासीको गुनासो छ ।
कोभिड–१९ शुरू हुनुभन्दा अगाडि किसानकै खर्चमा एशोसिएसनले नेदरल्याण्डबाटै प्रशिक्षक ल्याएर तालिम सञ्चालन गर्दै आएको थियो ।
कोभिडका कारण पछिल्लो समय त्यहाँ पनि हुन सकेको छैन । व्यवसायीहरू आफ्नै खर्चमा विभिन्न देशमा पुगेर फूल खेती र प्रविधिबारे नयाँ कुरा सिक्छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले फूलको अध्ययन अनुसन्धानको काम पुष्प विकास केन्द्रबाटै हुने जनाएको छ । नार्कबाट यस विषयमा खासै खोज अनुसन्धान नभएको र यसको जिम्मेवारी पुष्प विकास केन्द्रलाई दिइएको उल्लेख गरेको छ ।
पुष्प विकास केन्द्रकी सूचना अधिकारी सिर्जना न्यौपाने पौडेलले यस बर्षदेखि पुष्प उत्पादक किसानलाई अनुदान दिन शुरू गरेको जानकारी दिइन् । कोभिडका कारण दुई बर्ष अगाडिदेखि नै योजना बनाइएको भए पनि यस बर्षबाट अनुदान दिइएको उनको भनाई छ । केन्द्रले आफैँ खोज अनुसन्धानको कार्य अगाडि बढाउन नसके पनि शोध गर्न चाहाने विद्यार्थीहरूलाई सहयोग गर्दै आएको उनले बताइन् ।